काठमाडौं, ६ माघ । शेयर बजार र ब्याजदरको उल्टाे सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजारको सूचक बढ्ने गर्छ ।
पछिल्लो समय बैंकको ब्याजदर घट्दो ट्रेनमा भएकाले बजार २२ सयको विन्दु तर्फ लम्कदै छ । बैंककाे ब्याजदर, बजारको दीगोपन, बजारमा पूँजी परिचालनमा सहजता लगायतका बिषयमा शेयर बजारका अध्ययता अम्बिर बोगटीसँग अर्थ प्लसले गरेको कुराकानी :
बजारको पछिल्लो अवस्थालाई हेर्दा २२ सयको विन्दुलाई लगानीकर्ताले महत्व दिएको देखिन्छ । पटक पटक २२ सयको विन्दुलाई परिक्षण गर्यो । बुधबारको इन्ट्राडेमा २२ सयको विन्दु पार गरेर माथि पुग्यो तर टिक्न सकेन । उच्च भोल्युम सहित उक्त विन्दु पार गर्दा पनि बिक्री चाप थेग्न नसकेर बजार पुनः झर्यो ? अहिलेको बजारमा भएको के हो ?
शेयरबारलाई हेर्दा गत बैशाख महिनामा नै १८०६ को विन्दुमा बटम लगाएको थियो । त्यो बेलामा पनि बजार निरन्तर बढेर २२ सयको विन्दु पार गरेको थियो । त्यो बेला शेयर बजारलाई सम्बोधन गर्ने गरी वजेट आउने धेरै आशा गरिएको थियो । लगानीकर्ताको अपेक्षा बमोजिम बजेट नआउदा बजार पुनः ओरालो गति तर्फ मोडिएको थियो ।
असारको अन्तिम सातामा बजार पुनः २२ सयको विन्दुमा पुगेको थियो । मौद्रिक नीति मार्फत कसिलो बनेका नीतिहरु फुकुवा हुने आशा गरिएको थियो । लगानीकर्ताले आशा गरे अनुसारको कुराहरु मौद्रिक नीतिमा आउन सकेनन् । जसकार कारण बजार पुनः त्यो विन्दुमा टिक्न सकेन ।
पछिल्लो परिस्थितीहरुलाई हेर्दा बजार अनुकुल हुने बुँदाहरु समेटियो र अप्ठेरा बुँदाहरुलाई सरलीकृत गरिने काम भयो । शेयर कर्जाको जोखिम भार १५० बाट १२५ झारियो । १२ करोडको सिमालाई १५ र २० करोडको सीमा बनाइएको छ । यसले नीतिगत लचकताहरु अपनाउन थालिएको छ । ब्याजदरमा पनि केहि सहजता हुँदै गएको छ । ऋण प्राप्त गर्नको लागि पनि सजिलो हुँदा २२ सयको विन्दु पुग्न सकेको छ । बजार बढ्दो क्रममा छ । यसमा नबढेको भनेको बैकिङ्ग सेक्टर हो । पूँजीकरणको हिसाबले बजारमा हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको छ । ती कम्पनी चलेका छैनन । ति कम्पनी नचलेसम्म स्थायित्व आउने अवस्थामा आउन अल्लि गाह्रो हुन्छ । पहिले १८ सयको विन्दु वरपर घुमेको बजार अब २१ सय र २२ को बिन्दुमा घुमेको छ । यसको लक्षण भनेको बजार अब बढ्न सक्छ । मेरो अनुभबले के भन्छ भने ब्याजदर घटेर आएपछि अन्य कुराहरु महत्वपुर्ण हुदैन । ब्याजदरले बजारलाई साथ दियो भने बढेरै जान्छ । बजारको बढ्ने क्रम जारी रहन्छ ।
बैंक नबढेसम्म बजार स्थायित्व आउदैन भन्ने कुरा गर्दा अहिले हाईड्रोपावरलाई बजारको सूचकले महत्व दिएको देखिएको छ । ति सेक्टरमा करेक्सन आउदा सूचक दबावमा परेको छ । तर पनि लगानीकर्ताले बैंकिङ समुहमा प्रवेश गर्न रुचाई रहेका छैनन किन होला ?
बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमन भित्र रहेका हुन्छन । ति कम्पनीहरुले लाभांश वितरण गर्न पनि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ । अरु क्षेत्रले कम्पनीको निणर्यले लाभांश वितरण गर्न सक्छन । यसले लगानीकर्तालाई विश्वस्त बनाएको हुन्छ ।
अर्को लगानीकर्ताहरु नयाँ खोजीमा हुन्छन् । विगतदेखिको बुललाई विचार गरेर हेर्ने हो भने जहिले पनि नयाँ सेक्टले मात्र प्रतिनिधित्व गरेको देखिएको छ । २०६५ सालको बुलमा बैंकिङ्ग सेक्टरले गरेको थियो भने २०७३ को बुलमा इन्स्योरेन्स कम्पनीले गरेको थियो । २०७८ सालमा आउँदा उत्पादनमूलक र हाईड्रो कम्पनीहरुको लिएको देखियो । त्यो बेलादेखि हाईड्रोपावर कम्पनीको बाहुल्यता रहेको छ । हाईड्रो कम्पनीको भविष्य पनि छ । अस्ति मात्रै मित्र राष्ट्रहरुबाट विद्युत खरिद गर्ने सम्झौता भएकाे छ । अधिकांश लगानीकर्ताहरुले हाईड्रोपावर कम्पनीहरुमा लगानी बढाएका छन् । निश्चित प्रतिफल पनि भएको छ । र फेरि शेयर बजार भनेको हल्लाले चल्ने बजार हो । यसमा १०-२० प्रतिशत हल्लाले घटबढ हुन्छ । हाईड्रोपावर कम्पनीको शेयरलाई बजारले पत्याएको छ ।
तरलता पर्याप्त मात्रामा छ । ब्याजदर घटेको छ । अन्य सेक्टरमा कर्जा माग छैन । विगतमा भन्दा मार्जिन कर्जा बढेको तथ्यंकले देखाए पनि सन्तोषजनक नरहेको गुनासो छ । के कारणले बजारमा पैसा आउन रोक्यो ?
२०७८ सालमा ३२ सय वरपर पुग्दा १ खर्ब २१ अर्ब पुगेकाे शेयर कर्जा बजार १८ सयमा बटमलाग्दा झण्डै ५० प्रतिशतले झरेर ५८ अर्ब रुपैयाँमा आएकाे थियो । फेरि शेयर कर्जा बढेर ९१ अर्ब पुगेको छ । तर अन्य सेक्टरमा गएको पैसा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बजारमा आउने हो । अहिले कर्जा प्राप्त गर्न सजिलो छैन । सहकारी संघ संस्थामा समस्या छ । पहिले सहकारी सस्थाबाट पनि धेरथोर पैसा बजारमा आउने गरेकाे थियो । तर अवस्था त्यस्तो रहेन त्यसैले शेयर बजारले गति लिन नसकेको हो ।
ब्याजदर घट्दै छ । कहाँ लगाउने त पैसा ? उद्योग व्यवसायमा माग छैन । देशको जनसंख्या घटेको छ । व्यापारिक क्षेत्रहरुमा सटर खाली छन् । यसले उत्पादनमूलक उद्योगहरु र अन्य आवश्यकताका उद्योगहरु लगानी बढ्न सकिरहेको छैन । बैंकले ऋण दिएर पनि ब्याज तिर्न सक्ने क्षमता बन्दैन । आम्दानी हुने निश्चित हुदैन भने ऋण पाउनु ठूलो कुरा भएन । कर्जा लिएर ब्याज तिर्न सक्ने क्षमता बन्छ भने मात्र लिने हो । होइन भने त्यसले दायित्व मात्र बढाउने छ । तर पूँजी बजारमा कर्जा विस्तारै बढ्न सक्ने देखिएको छ ।
बैंकका निक्षेपकर्तालाई निरुत्साहित गर्ने गरी ब्याजदर घटेको छ । बजारमा लगानी गरेर बढी कमाउन सक्ने थाहा छ । बैंकको ब्याजबाट थोरै आम्दानी लिन तयार छन तर बजारमा लगानी गर्न तयार छैनन ? लगानीकर्तालाई बजारले किन आकर्षित गर्न सकेन ?
नेपालमा नीतिगत रुपमा नै केहि कुरा परिमार्जन हुन जरुरी छ । जागिर, घर भाडा र ब्याजदरमा आधारित हुने मनस्थिती परिवर्तन हुनपर्छ । उद्योग व्यवसाय गर्नुपर्छ, मनग्य नाफा हुन्छ । सरकारले लगानी मैत्री वातावरण निमार्ण गर्नुपर्छ । बैंक तथा वित्तीय सस्थाहरुका पनि आफ्नै समस्याहरु छन् । आजको भोलि नै ब्याजदर घटाउन सक्दैनन । निक्षेपको ब्याजदर आज घटेको छ भने भोलि नै कर्जाको ब्याजदर घटाउन सक्दैनन । बैंकको आन्तरिक खर्च बढेको छ । तर बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । अझै घट्न सक्ने देखिएको छ ।
ब्याजदर घटेको छ । कठोर मौद्रिक नीतिमा केहि लचकता अपनाइदै छ । अझै बजार १८ सय र २२ सयको विन्दुमा नै अल्मली रहेको छ । २२ सयको विन्दु पार गर्न सूचक धर्मराएको छ । लगानीकर्तालाई लगानी गर्न कसरी प्रेरित गर्न सकिन्छ ?
नेपालमा ६० लाखले डिम्याट खाता खेलेका छन । दोस्रो बजारमा कति सकृय छन् त ? १०० मा आउन पर्ने आईपीओ प्रिमियममा आएको छ । बजारमा कम्पनीहरु र शेयर सप्लाई थपिदै छ । तर खरिदकर्ता बढ्न सकिरहेका छैनन । खरिदकर्ता बढाउन शेयर किन्नको लागि कर्जा सहज गिर्नु पर्यो । अन्य व्यवसाय गर्न धितो राखेर कर्जा प्राप्त गर्न सकिन्छ । शेयर किन्न किन नपाईने ?
अहिले ५० लाख रुपैयाँसम्मको ऋण लिनको लागि ७० लाख रुपैयाँ धेरैको शेयर हुन आवश्यक छ । अरु व्यवसाय गर्न ३० प्रतिशत आफ्नो लगानी भएपछि ७० प्रतिशत कर्जा प्राप्त गर्न सकिन्छ । सरकार र राष्ट्र बैंकले अन्य व्यवसायमा जास्तै सहजै कर्जा प्राप्त गर्न सक्ने वातावरण बनाउनु पर्ने हुन्छ । होइन भने पहिले शेयर किन्नु पर्यो । फेरि बैंकमा धितो राख्नु पर्यो । त्यसपछि मात्र कर्जा प्राप्त गर्न सक्ने अवस्था छ । यसमा केही सुधार हुन जरुरी छ । मार्जिन ल्याडिङ कार्यान्वयनमा आउन सकेको छैन । यसलाई टुङगोमा पुर्याउन सकियो भने बजारको विकास दीगो रुपमा हुने छ ।
संस्थागत लगानीकर्ताहरुलाई बजारमा ल्याउन र त्यस्ता लगानीकर्ताको निक्षेपमा रहेको पैसा बजारमा ल्याउन के गर्नुपर्ने हुन्छ ?
ब्याज खाने उद्देश्यले स्थापना भएका संस्थाहरु छन भने त ब्याज खानै पर्यो । संचयकोष, नागरीक लगानी कोष जस्ता संस्थामा कर्मचारीहरुको पैसा हुन्छ । त्यासमा ब्याज कमाउनु राम्रो होला ।
केही ब्याज खाने उद्देश्य नभएका संस्थाहरु पनि बैंकको निक्षेपमा पैसा राखेर ब्याज खान पाइन्छ । त्यो नीति ठिक होइन । उद्देश्य बेग्लै छ । हामीले बीमा कम्पनीहरुलाई हेर्न सकिन्छ । बीमा कम्पनीहरुले निक्षेपमा पैसा राखेर ब्याज खाने होइन । बीमा व्यवसाय बढाउनमा जोड दिनुपर्ने हो । त्यस्तो संस्थाहरुलाई नियमनकारी निकायहरुले ब्याज नपाउने नीति बनाउनु पर्छ । त्यो गर्ने हो भने कर्जा सस्तो हुन्छ । बरु संस्थागत लगानीकर्ता बजारमा आउन इच्छुक छन् भने उनीहरुलाई प्रोत्सान गर्न सकिन्छ । सरलीकृत गर्दै लगानी मैत्री नीति बनाउने हो भने बजारमा आकर्षित हुने छन् ।
शेयर बजार जोखिमपूर्ण क्षेत्र भनिन्छ । फेरि मार्जीन कर्जा खराब भएको खासै रेकर्ड छैन ।
कता तलमेल मिलेन ? शेयर बजारमा लगानी बढाउन बैंकहरु डराउने गरेका छन् किन होला ?
मेरो विचारमा शेयर बजार जोखिमपूर्ण क्षेत्र नै हो । तर जोखिमलाई व्यवस्थापन गर्नुपर्छ । आज किनेको शेयर भोलि बढीमा १० प्रतिशत बढ्न सक्छ । जोखिम भनेको सबै सकिने होइन । बैंकहरुले कर्जा दिदा १८० किनेको औसत र बजार मूल्यको औसत मूल्यमा जुन कम आउछ त्यसबाट दिने हो ।
अहिले १०० रुपैयाँको शेयर बैंकमा धितो राख्यो भने बैंकले ७० रुपैयाँ कर्जा दिन्छ । फेरि बैंकलाई के अधिकार छ भने धितो राखेको शेयर १० प्रतिशत भन्दा धेरै घट्यो भने त्यो शेयर बिक्री गरेर कर्जा उठाउन सक्छ । यस्तो अधिकार अन्य क्षेत्रमा छ ? घरजग्गामा गरिएको लगानी सूचना निकालेर अन्य प्रकृयागत झन्झट धेरै छ ।
कति मुद्दा मामिलाहरु छन् । बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक विवरणहरु हेर्ने हो भने कुन शेयर बैंकले लिलाम गरेको छ ? कस्को ३५ दिने सूचना सार्वजनिक गरेको छ ? त्यस्तो क्षेत्रमा जोखिम छ भनेर हल्ला फैलाएको छ । यदि जोखिमपूर्ण क्षेत्र हो भने सरकारले ६० लाखलाई डिम्याट खाता खोल्न किन दिएको हो त ? सरकारले रोक्नु पर्ने हो । जोखिम हुन्छ । तर त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसमा नियामकले नियमन गर्नु पर्यो, लगानीकर्ताले अध्ययन गरेर लगानी गर्नुपर्छ । जानेर बुझेर लगानी गर्नपर्छ ।
