अर्थ प्लस
काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुरेन्द्र महतोको नाममा रहेको कुल १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याइएको छ ।
बैंकमा अहिले पनि उपेन्द्र महतोले ९३ लाख ७१ हजार ८८० र विरेन्द्र महतोले ६ लाख १७ हजार २४९ कित्ता शेयर होल्ड गरेका छन् । उपेन्द्रले मंसिर ७ गते मात्रै सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रोशन केसी अध्यक्ष छन् ।
सुरेन्द्रले बिक्री गर्ने शेयरका लागि गोप्य शिलबन्दीमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरिएको छ । सार्वजनिक सूचनामार्फत न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ कायम राख्दै इच्छुक लगानीकर्ता व्यक्ति तथा संघसंस्थाबाट गोप्य शिलबन्दी बोलपत्र माग गरिएको हो ।
माघ २ गते कार्यालय समयभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पुग्नेगरी आवेदन दिन सकिनेछ । शेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
