काठमाडौँ ,१० माघ- नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा सरकारले उक्त समिति गठन गरेको हो।
गठन भएको समितिमा अधिवक्ता सिजन गुरागाईँ र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य सदस्य छन्। उक्त समिति मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको हो।
गठित समितिले देश/विदेशको अभ्यासको अध्ययन गर्दै सरकालाई सुझाव प्रतिवेदन दिनु पर्ने छ। गठित समितिलाई ४५ दिन भित्र उक्त अध्ययन गरिसक्न सरकारले निर्देशन गरेको छ।
यस अघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला भइसकेको छ। नेपाल धितोपत्र बोर्डले खुला गरेको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीले ठाडो आदेश दिएका थिए। नयाँ एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउने सरकाले निर्देशन दिएको थियो। सोही विषय अन्तर्गत रहेर सरकारले अध्ययन समिति बनाएको हो।
