काठमाडौँ ,१० माघ- न्युज प्रिन्ट मिडियाबाट पहिलोपटक नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई शेयर जारी गरेर सुचीकृत गरेसँगै धेरै मिडिया कम्पनीहरु पनि आइपीओ निष्काशन गर्ने प्रक्रियामा लागेका छन् । अन्य मिडिया कम्पनीले पनि धमाधम साधारण सभाबाट आइपीओमा जाने प्रस्ताव पारित गर्दै बिक्री प्रबन्धक नियुक्त गरिहेका छन् ।
कान्तिपुुर पब्लिकेसनबाट निस्किएर छुट्टै मिडिया कम्पनीको रुपमा उदाएको नेपाल रिपब्लिक मिडिया अन्तर्गतको नागरिक दैनिकले तत्कालीन नेपाली मिडिया बजारमा तहल्का नै मच्चाएको थियो । त्यस समयको नम्बर १ कान्तिपुर दैनिकको सशक्त प्रतिस्पर्धीको रुपमा नागरिक दैनिकलाई लिने गरिन्थ्यो। तत्कालीन समयमा प्रचलित सबैजसो मिडियाका बिजनेस ब्युरो चिफहरुलाई आफ्नो टिममा सामेल गरेर हरेक दिन छुट्टै चार पृष्ठको बिजनेस अंक निकाल्ने दैनिकको श्रेय नागरिक टिमलाई नै जान्छ ।
नेपालको अर्थतन्त्र मजबुुत नभएपछि नेपाली मिडियाहरुमा पनि विज्ञापनको प्रवाह कम हुँदै जाँदा धेरै मिडिया कम्पनीहरु घाटामा जान थालेका छन् । अनलाइन मिडिया बाहेक न्यूज प्रिन्ट र टेलिभिजन मिडिया घाटामा नै सञ्चालन भइरहेका छन् । फाइदामा आउँदा सर्वसाधारणलाई आइपीओमा जान खासै रुचि नदेखाएको मिडिया कम्पनीहरु अहिले धमाधम आइपीओमा जान थालेका हुन । अर्थतन्त्र मन्दीमा जान थालेपछि पछिल्लो समय धेरै मिडिया कम्पनीका पत्रकारहरुले दुईदेखि तीन महिनासम्मको मासिक तलब समेत दिन नसकेको अवस्था छ ।
घाटामै सञ्चालित रहे पनि कम्पनीको नाममा रहेको अचल सम्पत्ति बिक्रीको नाफा देखाएर नेपाल रिपब्लिक मिडिया (एनआरएम) ले आइपीओको स्वीकृति पाउन सफल भएकाे थियाे । नेप्सेमा कम्पनीको शेयर न्यूनतम २ सय ५ रुपैयाँ र अधिकतम ४ सय ९२ रुपैयाँ ५० पैसासम्म पुगेको छ ।
पछिल्लोपटक कम्पनीको शेयर ४ सय ४ रुपैयाँमा अन्तिम कारोबार भयो । नेपाल रिपब्लिक मिडियाले आइपीओ स्वीकृति पाए लगत्तै कान्तिपुर समूह अन्तर्गतको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले धितोपत्र बोर्डमा शेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीले गत जेठ २८ गते ७ करोड ५ लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयरको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कान्तिपुरले शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
अग्रेजी दैनिक दी हिमालयन टाइम्सको प्रकाशन संस्था हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २५ गते आइपीओ निष्काशन गर्ने प्रस्तावसहित गत पुस २५ गते साधारण सभा सम्पन्न गरेको थियो । कम्पनीले आइपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको हो ।
त्यसैगरी अर्को जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले समेत सार्वजनिक शेयर जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा जनता टेलिभिजनका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।
झण्डै १२ सयभन्दा बढी सर्वसाधरण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी न्यूज २४ टिभी च्यानलको मातृ कम्पनी नेपाल ब्रोडकास्टिङ च्यानलले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको माघ ७ गते सम्पन्न साधारण सभाले आइपीओमा जाने प्रस्ताव पारित गरेको थियो । कम्पनीले न्यूज २४ टिभी च्यानल र अनलाइन न्यूज पोर्टल समेत सञ्चालन गर्दै आएको छ ।
