काठमाडौँ, १५ माघ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने बताएका छन् । उनले कर्जा सुरक्षित गर्नको लागि पनि ग्राहकहरू अनिवार्य रुपमा कोषमा आबद्ध हुनुपर्ने बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा वा कर्जाको नवीकरण गर्दा सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता भएको सुनिश्चित गरेमा कर्जा सुरक्षित हुने देखिन्छ,’ उनले भनेका छन् ।
सामाजिक सुरक्षा कोषमा आबद्धता कानुनतः अनिवार्य रहेको बताउँदै उनले यसमा आबद्ध नभएकै कारणले कुनै रोजगारदाता श्रमिकको सामाजिक सुरक्षासम्बन्धी दायित्वबाट भाग्न नपाउने जिकिर गरेका छन् ।
यदि कुनै श्रमिकको मृत्यु भएमा निजको हकवालाले आजीवन निवृत्तभरण बराबरको रकम एकमुष्ट भुक्तानी गर्नुपर्ने र सो रकम सरकारी बाँकी सरह असुल उपर हुने व्यवस्था छ । तसर्थ बैंकले कर्जा प्रवाह गर्दा वा कर्जाको नवीकरण गर्दा जसरी कर चुक्ता भए वा नभएको हेरेर मात्र निर्णय गर्दछ, त्यसरी नै सामाजिक सुरक्षा कोषमा आबद्ध भए वा नभएको यकिन गरेर मात्र कर्जा नवीकरण वा प्रदान गर्नुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा सुरक्षित हुनुका साथै रोजगारदाता र श्रमिकको जीवन पनि सुरक्षित हुने उनको भनाई छ ।
उनले बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीहरू कोषमा आबद्ध छैनन् भन्ने भ्रम रहेको बताए । यसै सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार हाललाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अनिवार्य नभए तापनि कोषमा वित्तीय क्षेत्रको कुल श्रमिकको ५ प्रतिशतभन्दा बढीको सहभागिता रहेको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।
साथै, प्राइम बैंकको एउटा मुद्दामा श्रम ऐन बैंकलाई समेत लाग्ने गरी फैसला गरेकाले बैंकिङ क्षेत्र पनि कोषमा आबद्ध हुने विषयले व्यापकता पाएको उनी बताउँछन् ।
