काठमाडौं, पुस १० । सुनसरीको सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा मोटो रकम खर्च गरेर युवाहरू विदेशिने क्रम बढिरहँदा यादव भने मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताउँछन् ।
यादव मधेश आन्दोलनका बेला सक्रियता पूर्वक लागे । पछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । आफूले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएको यादव बताउँछन् ।
यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजारसम्म आम्दनी भइरहेको जानकारी दिए । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध सङ्कलन हुँदै आएको उनले बताए । दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार आम्दनी हुनेमा सबै खर्च कटाउँदा ९० हजार बचत भइरहेको छ ।
‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार हुँदै आएको छ ।’ रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।रासस
