काठमाडाैं, पुस १४ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य बाहिरिएको छ ।
कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस)मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको हो ।
सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था विश्लेषण गर्न तथा आर्थिक हिनामिना भएको वा नभएको यथार्थ अवस्था विश्लेषण गर्न गत पुस ५ गते पाँच सदस्यीय विशेष छानविन समिति गठन भएको थियो ।
उक्त समिति बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्ष देखी अपचलनलाई लुकाइएको यस समितिको अनुमान गरिएको छ ।
राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेकोे सीबीएसमा प्रविष्टि गरिएको थियो । तर, छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।
प्रतिवेदनमा बैंकको करिब १ अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी तथा हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह संलग्न किटान गरिएको छ ।
अध्यक्ष ओम प्रकाश मिश्राले हालका सीईओ निरज विक्रम शाह लाई अनौपचारिक प्रश्न गर्दा लगभग १०० करोड राजेन्द्र वीर रायते तथा बाँकी रकम अन्य व्यक्तिहरुले अपचलन गरेको भनेको समेत उल्लेख गरिएको छ ।
अध्यक्ष ओम प्रकाश मिश्रा र सञ्चालक निसार अहमद दर्जी, राजेन्द्र वीर राई र नीरज विक्रम शाहलाई संगै राखेर प्रश्न गर्दा राजेन्द्र विर रायले आफु सीईओ हुँदा सम्मको रकम मात्र अपचलन गरेको स्वीकारेको तथा त्यसपछी अपचलनको जिम्मा आफ्नो नरहेको अभिव्यक्ति दिएका थिए । यस क्रममा त्यही उपस्थित नीरज विक्रम शाहले यो भनाईको प्रतिवाद नगरेको हुँदा नीरज विक्रम शाहले पहिले दिएको अभिव्यक्ति माथी १०० प्रतिशत एकीन गर्न सकिने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
