काठमाडौं, माघ २४ । बैंक वित्तीय संस्थाको घट्दै गएको ब्याजदरको असर बैंक वित्तीय संस्थाको निक्षेपमा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको रिपोर्टमा त्यस्तो देखिएको हो।
नेपालमा सर्वसाधारणले आफूले कमाएर बचेको रकम बैंक वित्तीय संस्थामा बचत गर्ने गर्छन्। बैंक वित्तीय संस्थाको प्रमुख स्रोत सर्वसाधारणबाट सङ्कलित बचत नै हुने गर्छ। अझै जुन बैंक वित्तीय संस्थाले बढी ब्याज दिने गर्छ, त्यसैमा सर्वसाधारणले पैसा राख्ने गर्छन्। त्यो क्रम संस्थागत तर्फ अझै बढी छ। तर अहिले भने ब्याजदर घटेकै कारण सर्वसाधारणले आफूसित भएको रकम निक्षेपमा राख्ने क्रम घटाएका छन्। गत वर्ष पुसको तुलनामा उनीहरूले अहिलेको पुसमा त्यो क्रम घटाएका हुन्।
नेपाल राष्ट्र बैंकको विवरण अनुसार २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्तीको भूमिका ६.८ प्रतिशत देखिएको छ। त्यसैगरी बचतमा २६.८ प्रतिशत र मुद्दती निक्षेप ५९.९ प्रतिशत छ। जुन गत पुसको तुलनामा कम हो। गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो। यस आधारमा यो वर्ष पुसमा चल्ती तर्फ १ प्रतिशतले घटेको छ भने निक्षेप तर्फ सबैभन्दा बढी १.२ प्रतिशतले घटेको छ। यता मुद्दती निक्षेप तर्फ ०.४ प्रतिशतको गिरावट छ।
आम सर्वसाधारणले गत पुसमा भन्दा कम बैंक वित्तीय संस्थामा पैसा राखेका भएपनि संस्थागतहरूमा भने कुनै परिवर्तन छैन। उनीहरूको भूमिका भने जस्ताको त्यस्तै छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत छ । २०७९ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत नै रहेको थियो।
सर्वसाधारणले भने बैंक वित्तीय संस्थाबाट कम ब्याज आउन थालेपछि बैक निक्षेप घटाएका छन्। उनीहरूले बैंक वित्तीय संस्थाले दिने प्रतिफल भन्दा बढी आउने ठाउँमा आफ्नो पैसा डाइभर्ट गर्न थालेको रुपमा बुझ्नु पर्ने एक अवकाश प्राप्त बैंकरले बताए। उनका अनुसार जब बैंकले दिने ब्याजदर घट्दै जान्छ। तब सर्वसाधारण अलि बढी प्रतिफल आउने ठाउँतर्फ मोडिन्छन्। नेपालमा धेरै जसो सर्वसाधारण घरजग्गा, शेयर बजार र सहकारी तर्फ आफ्नो निक्षेप परिचालन गर्ने गरेको देखिएको छ। तर संस्थागत लगानीकर्ताले भने धेरै जसो मुद्दती निक्षेपमा राखेका हुन्छन्। उनीहरूको पैसा हत्त पत्त अर्को क्षेत्रमा डाइभर्ट हुँदैन। डाइभर्ट नै भएपनि एक बैंकबाट अर्को बैंकमा सर्ने गर्छ। ब्याजका कारण त्यस्तो हुन्छ। तर हिसाब गर्दा भने उनीहरूको रकम बैंक भित्रै रहेको हुन्छ। जसका कारण उनीहरुकोमा फेर बदल नदेखिएको हो।
गत पुसमा शेयर बजार बढेको थियो। सूचक मात्रै बढेको थिएन, कारोबार रकम समेत बढेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुस महिनाको मासिक विवरण अनुसार २०७९ पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ। गत वर्षको भन्दा बढेको त छदै छ। त्यसका अतिरिक्त मंसिरको तुलनामा ६ प्रतिशत भन्दा बढीले बढेको थियो।
सूचक बढेको प्रभाव शेयर मूल्यमा समेत देखिएको थियो। जसका कारण कुल बजार पूँजीकरण समेत उल्लेख्य बढेको छ। २०८० पुस मसान्तमा बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड कायम भएको छ। २०७९ पुस मसान्तमा बजार पुँजीकरण ३१ खर्व ३ अर्ब १६ करोड रहेको थियो।
यसले पनि सर्वसाधारणले बैंक वित्तीय संस्थामा कम ब्याजदर पाउन थालेपछि बचतको पैसा शेयर बजार तर्फ मोड्न थालेको अनुमान गर्न सकिन्छ। यसैगरी ब्याजदर घट्दै गएमा अझै धेरै पैसा शेयर बजार लगायत अन्य क्षेत्र तर्फ मोडिने बताइएको छ।
राष्ट्र बैंककै विवरण अनुसार २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत रहेको छ भने विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत छ। जुन गत वर्षको पुसको भन्दा कम हो। गत वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो।
यता २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भरित औसत ब्याजदर ७.३२ प्रतिशत कायम भएको छ भने विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरूको ९.६२ प्रतिशत छ। २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भरित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो।
