काठमाडौँ, फाल्गुण ७ । लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार पुरानै लयमा फर्किन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा देशभर ५० हजार नौ सय २१ वटा घरजग्गाको औपचारिक रुपमा खरिद बिक्री भएको छ ।
त्यसबाट तीन अर्ब ३७ करोड ५७ लाख राजश्व उठेको छ । जबकी पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो । पुसमा जग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख राजस्व संकलन भएको थियो ।
माघ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच जनकपुरधाम मालपोत कार्यालयबाट भएको छ । त्यहाँ एक महिनामा जनकपुरबाट दुई हजार ९२ घरजग्गाको लिखत पारित भएको छ । त्यस्तै सुनसरीको इनरुवा मालपोतबाट दुई हजार ३२, झापाको भद्रपुरबाट १९ सय लिखत पास भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट माघमा चार हजार एक सय ६५ घरजग्गाको लिखत पारित भएको छ । ललितपुरको लगनखेल मालपोतबाट नौ सय २७, गोटीखेलबाट ३१, भक्तपुरबाट नौ सय ९५, डिल्लीबजारबाट दुई सय पाँच, चाबहिलबाट चार सय ४७, कलंकीबाट ६ सय ६७, साँखुबाट चार सय आठ, मनमैजुबाट तीन सय नौ र टोखा मालपोतबाट एक सय ७६ घरजग्गाको लिखत पारित भएको जानकारी विभागले दिएको छ ।
सरकारले करिब २ वर्षदेखि रोकेकाे जग्गाको कित्ताकाट खुल्नु, बैंकमा तरलता बढ्नु, ब्याजदर घट्दै जानु लगायत कारण घरजग्गा कारोबार बढेको अनुमान सरोकारवालाहरुले गरेका छन् । पछिल्लो समय तरलता बढेपछि बैंकहरूले घरजग्गा खरिदमा लिने व्याज पनि घटाएर एकल विन्दुमा दिन थालेका छन् ।
