काठमाडौं । नेपाल राष्ट्र बैकले ५ रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा, न. ०००००१ देखि ९९९९९९ सम्मको नोट आज वैशाख २ गतेदेखि प्रचलनमा ल्याएको हो।
उक्त नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।
नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०८१” लेखिएको छ।
त्यस्तै नोटको पृष्ठ भागको माथिल्लो खण्डमा अंग्रेजीमा लेखिएको छ। नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा” RUPEES FIVE”“NEPAL RASTRA BANK” लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2024 A.D.” लेखिएको छ।
