Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कर्णाली डेभलपमेन्ट बैंकको ‘ऋण बेचेर’ बचत फिर्ता, सम्पत्तिले दायित्व नखाम्ने

कर्णाली डेभलपमेन्ट बैंकको ‘ऋण बेचेर’ बचत फिर्ता, सम्पत्तिले दायित्व नखाम्ने

अर्थ प्लस
कर्णाली डेभलपमेन्ट बैंकको ‘ऋण बेचेर’ बचत फिर्ता, सम्पत्तिले दायित्व नखाम्ने

काठमाडौँ, जेठ ९ । गत पुस १० गते समस्याग्रत घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकले हाल बचत फिर्ता कार्य बन्द गरिएको छ ।  बैंकसँग पैसा नहुँदा वैशाख ३१ गते सूचना जारी गरी जेठ ९ गतेसम्म बचत फिर्ता नहुने जानकारी गराएको छ । 

समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले ‘टेक ओभर’ गरेर हालसम्म निक्षेपकर्तालाई ५० करोड रुपैयाँ फिर्ता गरिएको छ । 

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट अन्तरबैंक सापटी र ऋण बेचेर प्राप्त रकमबाट बचत फिर्ता गरेको छ । ऋण बेच्नु भनेको कर्णाली डेभलपमेन्ट बैंकले कुनै व्यावसायिक घराना तथा फर्मलाई दिएको ऋण अर्काे बैंक तथा वित्तीय संस्थालाई दिएर त्यो संस्थाबाट पैसा लिनु हो । 

यस्तो ऋण केही कम मूल्यमा बेचिन्छ । किनभने बचतकर्तालाई फिर्ता गर्ने पैसा नभएपछि तरल सम्पत्ति बढाउन यो उपाय अपनाइन्छ ।  यसरी ऋण बेच्ने बैंकले अर्काे बैंक तथा वित्तीय संस्थालाई केही सहुलियत दिएको हुन्छ । 

अहिलेको अवस्थामा यो बैंकले आफ्नो सम्पत्ति बेचेर दायित्व पूर्ति गर्न सक्दैन । 

बैंकसँग साढे दुई अर्ब रुपैयाँ पुँजी तथा सम्पत्ति छ । तर, दायित्व साढे चार अर्ब रहेको छ । यो अवस्थामा बैंकलाई तरलता व्यवस्थापन गर्न समस्या परेको छ । 

कर्जा असुल गरेर निक्षेप फिर्ता गर्नुपर्ने व्यवस्थाकमा चुनौती रहेको नेपाल राष्ट्र बैंकका उप–निर्देशक तथा बैंक व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले बताए । 

“अहिले यो बैंकमा मेजर समस्या भनेको तरलता व्यवस्थापनको हो । कर्जा बिक्री, अन्तर बैंक सापटी, कर्जा असुली प्रक्रियाबाट निक्षेपकर्ताको कर्जा फिर्ता गरिरहेका छौं,” खतिवडाले भने, “अहिले निक्षेप संकलनमा राष्ट्र बैंकले रोक लगाएको छ । कर्जा असुल गरेर निक्षेप फिर्ता गर्नुपर्ने व्यवस्थाकमा चुनौती छ ।”

हाल यो बैंकलाई नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने स्वीकृति दिएको छैन ।  बैंकले बजारमा दिएको ऋण उठाएर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्नुपर्ने बाध्यता छ ।  बैंकले व्यापारिक घराना, ओभर ड्राफ्ट र हायर प्रचेज कर्जा दिएको छ । 

यसरी दिएको कर्जाको गुणस्तर गतिलो नभएको प्रारम्भिक अनुमान छ । कर्जाको गुणस्तर गतिलो नहुँदा भनेअनुसार कर्जा असुली नभएको खतिवडा बताउँछन् ।  अहिले व्यापार राम्रोसँग चलेको छैन । घरजग्गा लिलाम भएको अवस्था छैन । 

लिलाम नहुँदा पनि समस्या निम्तिएको छ । लिलामी प्रक्रियाबाट पनि ऋण असुल नहुने भएकाले गैर बैंकिङ सम्पत्ति सकार गरेर राख्नुपर्ने वाध्यता बैंकसँग छ ।  राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्म यो बैंकसँग ६ करोड ११ लाख रुपैयाँभन्दा बढीको गैरबैंकिङ सम्पत्ति छ । 

सम्पत्ति र दायित्वको म्याचिङ नहुँदा पनि यो बैंक यही अवस्थामा सञ्चालन नहुने निष्कर्षमा व्यवस्थापन समिति पुगेको छ ।  आर्थिक अपचलनका कारण सम्पत्तिभन्दा बढी दायित्व छ । यसको ग्याप पूर्ति गर्न व्यवस्थापक समूहलाई सकस परेको छ । 

डिपोजिटरलाई सुरक्षित गर्नतर्फ नै व्यवस्थापक समितिको ध्यान छ । 

“सम्पत्ति र दायित्वको म्याचिङ छैन । सम्पत्तिभन्दा अलिक बढी दायित्व छ,” संयोजनक खतिवडाले बाह्रखरीसित भने, “जुन अपचलन भयो, त्यो अपचलन भएको रकमको ग्याप भइरह्यो । ग्याप पूर्ति कसरी गर्ने र डिपोजिटरलाई कसरी सुरक्षित गर्ने भन्ने नै हाम्रोलागि मुख्य चुनौती छ ।” 

निक्षेपकर्तालाई निक्षेप सुरक्षित छ भन्ने वातावरण बनाइदिनु व्यवस्थापक समूहको चुनौती छ ।  तर, सम्पत्तिले दायित्व कभर नगर्ने भएकाले दायित्व कभर कसरी गराउने भन्ने विषमा विभिन्न मोडालिटीमा काम भइरहेको छ । 
अहिलेको अवस्थमा संस्था सञ्चालन गर्न धेरै गाह्रो रहेको खतिवडा बनाउँछन् । 

सम्पत्तिभन्दा दायित्व बढी भएकै कारण अरू संस्थासँग मर्जरमा गएर सञ्चालन गर्ने अवस्था छैन ।  सम्पत्तिले दायित्व नखाम्ने स्थिति भएकाले आफैँ यो अवस्थामा चल्नसक्ने अवस्था यो बैंक छैन ।  बैंकलाई सञ्चालनका लागि रोडम्याप तयार गरेर राष्ट्र बैंकमा बुझाइएको छ । 

यो रोडम्याप अनुसार राष्ट्र बैंकले स्वीकृति दियो भने निक्षेपकर्ताको निक्षेप पनि सुरक्षित हुने देखिन्छ । 

“हामीले एउटा रोडम्याप बनाएर राष्ट्र बैंकसँग स्विकृति मागेका छौं । यो अनुसार स्वीकृति पाइयो भने निक्षेपकर्ता पनि सुरक्षित हुने र संस्था रिभाइभ हुने किसिमले सोचिरहेका छौँ हामीले,” खतिवडाले भने । 

अहिलेको सञ्चालक हटाएर नयाँ सञ्चालक समिति गठन गर्न पनि सुझाव दिइएको छ । उनीहरूलाई पैसा राख्न लगाउने र सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।  एक दुईवटा विकास बैंक र फाइनान्स कम्पनीसँग पनि मर्जरको छलफल चलाइएको छ । 

तर, कोही पनि यो बैंकलाई अहिलेको अवस्थामा लिन तयार नभएको देखिन्छ ।  यो बैंकमा भएको आर्थिक अपचलनको विषयमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पनि छानविन गरिरहेको छ । यसको प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको बताइएको छ । 

बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको र निष्क्रिय कर्जा ४०.८५ प्रतिशत रहेको अवस्थामा राष्ट्र बैंकले नियन्त्रणमा लिएको हो । 

यो बैंकलाई सञ्चालनका निम्ति राष्ट्र बैंकले तीन सदस्यीय कमिटी गठन गरेको थियो । व्यवस्थापन समूहमा खतिवडा संयोजक छन् । वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य छन् । 

उक्त टोलीले कर्णाली विकास बैंक रहेको केन्द्रीय कार्यालय बाँकेको नेपालगञ्जमै गएर काम गरिरहेको छ । यो बैंकले केन्द्रीय कार्यलयसहित १९ शाखामार्फत सेवा दिँदै आएको छ । 
 

सम्बन्धित समाचार