Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

ओलीको प्रस्तावमा निर्णय गर्न नसक्दा दुई पटक चिप्लिए देउवा

ओलीको प्रस्तावमा निर्णय गर्न नसक्दा दुई पटक चिप्लिए देउवा

अर्थ प्लस
ओलीको प्रस्तावमा निर्णय गर्न नसक्दा दुई पटक चिप्लिए देउवा

काठमाडौ, २१ फागुन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका खुलेको छ । तर, त्यस्तो प्रस्तावलाई देउवाले नै बेवास्ता गरेको बुझिएको छ ।

कांग्रेस स्रोतका अनुसार, देउवालाई एमालेको समर्थनमा सरकारको नेतृत्व गर्न ओलीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा देउवाले सकारात्मक प्रतिक्रिया नदिएको जानकारी शेखर कोइरालाले पाएका थिए । 

कोइरालाले समेत देउवालाई ओलीसँग कुरा गर्न आग्रह गरेका थिए । तर, देउवाले गठबन्धनमा अविश्वास हुने भन्दै कुरा गर्नसमेत अस्वीकार गरेको कांग्रेस स्रोतको भनाइ छ ।

राजनीतिक दलका नेताबीच भेटघाट हुनु उपयुक्त हुन्छ भनी नेताहरुले कर गर्दा समेत देउवाले गठबन्धनमा अविश्वास बढ्ने टिप्पणी गरेका थिए । “कतिसम्म भने भाउजू (आरजु देउवा) ले भेट्छु भन्दासमेत देउवाले भेट्न जान दिनुभएन,” स्रोतले भन्यो ।

छोराको बिबाहको निम्ता कार्ड दिने बहानामा आरजुले दुईघण्टा ओलीसँग कुराकानी गरेकी थिइन् । फोनमा कुरा गर्नुस् भन्दा पनि देउवाको भनाइ हुन्थ्यो, “हल्ला हुन्छ, गठबन्धनमा अविश्वास बढ्छ ।”

ओलीले भेट्न, कुरा गर्न खोज्दा आफूले टारेको कुरा सोमबार पदाधिकारी बैठकमै देउवाले खुलाएका छन् । “ओलीजीले भेटौँ भन्दै दिनमा दुई पटक फोन गर्दा गठबन्धनमा अविश्वास बढ्छ भनेर भेट्न मानिनँ,” देउवाले पदाधिकारी बैठकमा भनेका थिए, “तर, प्रचण्डले लुकीलुकी ओलीलाई भेद्दा रहेछन् । उनी त धोकेबाज रहेछन् ।”

एमालेका उपमहासचिव विष्णु रिमालले मध्यपहाडी पुष्पलाल राजमार्गको यात्राबाट फर्किएपछि बाह्रखरीसँगको कुराकानीमा कांग्रेस सभापति देउवाले राजनीतिक विषयमा एमालेसँग कुरा गर्न नचाहेको बताएका थिए ।

सत्ता र नागरिकमा मुद्दामा जिम्मेवार राजनीतिक दलबीच सहकार्य हुन नसकेको उल्लेख गर्दै रिमालले कांग्रेससँग किन सहकार्य गर्नुहुन्न भन्ने प्रश्नमा यस्तो जवाफ फर्काएका थिए । 

“हामीले निर्वाचनमा ‘झ्यास’ दलहरुलाई नबोकौँ, मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ भन्दा कांग्रेस तयार भएन र गठबन्धनमा चुनावमा गयो,” रिमालले भनेका थिए, “राष्ट्रको अर्थतन्त्रदेखि धेरै कुरा समस्याग्रस्त छन् । यी सबै कुरा मिलेर गरौँ भन्यौं देउवाजी कुरा गर्न तयार हुनुहुन्न ।”

एमालेले देशको अवस्था सुधार गर्दै आगामी चुनावमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेगरी सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । 

स्रोतका अनुसार, देउवा र ओलीसँग उस्तै सम्बन्ध भएका एक गैर राजनीतिक व्यक्तिले ओली देउवाबीच सन्देश आदान–प्रदान गरेका थिए । तर, देउवा भने प्रचण्डले संवाद मात्र थाहा पाए पनि गठबन्धन नै तोडिने भन्दै कुराकानीसमेत खुलेर गर्न तयार भएका थिएनन् ।
 
एमालेले कोसी प्रदेश मुख्यमन्त्री निर्वाचनमा शेखर–गगन समूहसँग सहकार्य गरेको थियो । तर, महत्वपूर्ण निर्णयमा देउवाबाटै प्रभावित हुने भएपछि देउवासँगै सिधा संवाद गर्न खोजेको थियो ।

“शेखर–गगन समूह कांग्रेसभित्र विद्रोही त देखियो तर, परेको बेला निर्णय गर्न सक्ने अवस्थामा देखिएन,” एमालेका एक पोलिट्व्यूरो सदस्यले भने, “त्यसैले देउवासँगै सिधा कुरा गरौं भन्ने नीति बनाइयो, उहाँ त कुरा गर्नसमेत तयार हुनुभएन ।”

ती नेताले केही शक्ति राष्ट्रको प्रभावमा देउवा एमलेसँग कुराकानी गर्न तयार नभएको आरोपसमेत लगाए । एमाले–माओवादी गठबन्धन निर्माणमा भने उनले शक्ति राष्ट्रको प्रभाव परेको विषय अस्वीकार गरे ।

सम्बन्धित समाचार