Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

किन डराइरहेका छन् निफ्राका शेयरधनी? संस्थापक शेयरको लक इन पिरियड खुल्ने बित्तिकै मूल्य ओरालाे लाग्ने नै हाे त?

किन डराइरहेका छन् निफ्राका शेयरधनी? संस्थापक शेयरको लक इन पिरियड खुल्ने बित्तिकै मूल्य ओरालाे लाग्ने नै हाे त?

किन डराइरहेका छन् निफ्राका शेयरधनी? संस्थापक शेयरको लक इन पिरियड खुल्ने बित्तिकै मूल्य ओरालाे लाग्ने नै हाे त?

काठमाडौं, २७ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को शेयर बाँडफाँट भएको झन्डै ३ वर्ष पुग्न लागेको छ। निफ्राले १ सय रुपैयाँ दरका ८ करोड कित्ता शेयर निष्काशन गर्दा १४ लाख ७५ हजार ८ सय जना आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका थिए। निफ्राको शेयर २०७७ साल माघ १६ गते बाँडफाँट भएको थियो।

निफ्रा कारोबारमा आएको ३ वर्ष हुनै लागेको हुँदा लक इन पिरियड सकिन लागेको हल्ला सामाजिक सञ्जालमा व्यापक रुपमा उठेको छ । लक इन पिरियड खुल्ना साथ व्यापक रुपमा ‘निफ्रा’ को संस्थापक शेयरको आपूर्ति बढ्ने डरले पनि लगानीकर्ता डराइरहेका छन । वास्तवमा निफ्रा राष्ट्र बैंकले नियमन गर्ने संस्था हुँदा यसमा अरु कम्पनीमा जस्तो सबै संस्थापक शेयर साधारण शेयरमा परिणत हुँदैन । कम्पनीको साधारण सभाले पारित गरेर राष्ट्र बैंकले स्वीकृति दिएमा भने सर्वसाधारणको हिस्सा अधिकतम ४९ प्रतिशतसम्म गर्न सकिने व्यवस्था छ । अधिकांश वाणिज्य बैंकले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गरेका छन् । 'निफ्राले पनि संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्न चाहेमा अधिकतम ९ प्रतिशत शेयर मात्रै संस्थापकबाट साधारणमा परिणत गर्न सक्छ। यसको लागि केन्द्रीय बैंकले तोकेको प्रक्रिया पुरा गर्नुपर्छ । अहिले ३ वर्षको लक इन पिरियड खुलेपछि संस्थापक बीच मात्रै शेयर किनबेच खुल्छ । यसले दोस्रो बजारमा केही असर गर्दैन ।'- निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले भने । नेप्सेमा सूचीकृत हाइड्रोपावर, सिमेन्ट र अन्य इन्भेष्टमेन्ट कम्पनी जस्तै गरी सम्पूर्ण संस्थापक शेयर साधारणमा परिणत गर्न सकिंदैन ।

नेपालमा बिमा प्राधिकरण र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका कम्पनी बाहेकका नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक शेयर आइपीओ बाँडफाँट भएको ३ वर्षसम्म लक इन रहने व्यवस्था छ । लक इन पिरियड सकेपछि सबै शेयरहरु सर्वसाधारण सरह नै कारोबार हुने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकाल सकिनु केही दिन अगाडि मात्रै लक इन पिरियड सकिने कम्पनीले सो समय अवधि सकिनु एक महिना अगाडि नै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जमा लक इन पिरियड सकिन लागेको कित्ता, लक इन पिरियड सकिने मिति उल्लेख गरी सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेका थिए । निफ्राको सवालमा लागु नहुने हुनाले कम्पनीले लक इन पिरियड खुल्ने कुनै जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।

नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको भए पनि नेपाल इन्फ्रास्ट्रचर बैंक फरक किसिमको बैंक हो । केन्द्रीय बैंकले अनुमति दिएका कम्पनीहरु वाणिज्य बैंक, विकास बेंक, फाइनान्स र लघुवित्त समूह गरी ४ समूहमा विभाजन भएर सूचीकृत भए पनि निफ्रा भने लगानी समूहमा सूचीकृत छ । वास्तवमा निफ्रालाई ठूला मेगावाटका हाइड्रोपावर, राजमार्ग, कलकारखाना, विमानस्थलजस्ता राज्यलाई अति आवश्यक पर्ने पूर्वाधारहरुमा दीर्घकालीन लगानी गर्ने उद्देश्यले केन्द्रीय बैंकद्वारा स्वीकृत प्राप्त संस्था हो । संस्थाको मुख्य काम ठूला पूर्वाधारहरुमा वित्तीय लगानी गर्ने नै हो । नेपाल स्टक एक्सचेन्ञ्ज(नेप्से)ले समान उद्देश्य भएका कम्पनीहरुलाई एउटै समूहमा राखेर दैनिक शेयर कारोबारको विवरणहरु सार्वजनिक गर्ने गर्दछ । लगानी गर्ने उद्देश्यलाई ध्यानमा राखेर नेप्सेले निफ्रालाई लगानी समूहमा राखेको हो ।

नेप्सेको लगानी समूहमा निफ्रासँगै नागरिक लगानी कोष (सीआईटी), हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन), सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(सीएचडीसी), इमर्जिङ नेपाल लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेको छ । निफ्रा बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत स्थापना भएको कम्पनी हो भने एनआईडीसिएल र सीआईटी छुट्टै विशिष्ट ऐनमार्फत स्थापित संस्था हो । लगानी समूह अन्तर्गत सूचीकृत समूहमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लकिङ पिरियड खुला भइसकेको छ । एनआरएनमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण शेयर रहेकोमा लक इन पिरियड खुला भएपछि सम्पूर्ण शेयर नै सर्वसाधारण सरह कारोबार भइसकेको छ । लक इन पिरियड खुलेपछिको पहिलो तीन कारोबार हरेक दिन नकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य झरेको थियो । गत पुस १७, १८ र १९ गते तीन दिन सर्किट लेभलमा घटेर कारोबार भएपछि भने एनआरएनको शेयर मूल्य झर्ने क्रम थापिएको थियो ।

त्यसैगरी सीएचडीसीको संस्थापक शेयरको लक इन पिरियड पनि ५ महिनापछि सकिंदैछ । राष्ट्र बैंक र बिमा प्राधिकरणले नियमन गर्ने कम्पनीबाहेक अन्य विशिष्ट ऐनद्वारा स्थापित कम्पनीमा संस्थापक शेयरको लक इन पिरियड खुल्ने प्रावधान लागू हुँदैन ।

सम्बन्धित समाचार