Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

लगानीकर्तामा त्रास: अर्बौं रकम दाबीपछि निर्जीवन बीमा कम्पनीको नाफा कता ?

लगानीकर्तामा त्रास: अर्बौं रकम दाबीपछि निर्जीवन बीमा कम्पनीको नाफा कता ?

अर्थ प्लस
लगानीकर्तामा त्रास: अर्बौं रकम दाबीपछि निर्जीवन बीमा कम्पनीको नाफा कता ?

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण भएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। यति ठूलो रकमको दाबीले सेयर लगानीकर्ताहरू त्रसित बनेका छन्।  

आज सेयर बजारमा ४.४४ प्रतिशतको वृद्धि भए पनि निर्जीवन बीमा समूहको सेयर मूल्य भने घटेको छ। नेप्सेमा सूचीकृत १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये एनएलजी इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य मात्रै बढेको छ, बाँकी १२ कम्पनीको सेयर मूल्य भने उल्लेख्य रूपमा घटेको छ।  

प्राधिकरणका अनुसार जेनजी आन्दोलनका कारण करिब २० अर्ब ७० करोडको दाबी परे पनि मूल्यांकनपछि यो रकम १५ देखि २५ प्रतिशतले घट्न सक्छ। यस आधारमा बीमा कम्पनीहरूले करिब १६ देखि १७ अर्ब रुपैयाँ मात्र दाबी भुक्तानी गर्नुपर्ने अनुमान छ।  

यी दाबीहरू हुलदंगा र आतंकवाद बीमा अन्तर्गत पर्ने भएकाले ६५:३५ को अनुपातमा नेपाल पुनर्बीमा कम्पनीले ६५ प्रतिशत (करिब १४ अर्ब) र हिमालयन रिले ३५ प्रतिशत (करिब सवा ३ अर्ब) दाबी वहन गर्ने देखिन्छ। तर, पुनर्बीमा कम्पनीहरूले पनि विदेशी कम्पनीहरूसँग पुनर्बीमा गरेको हुँदा नेपाली बीमा कम्पनीहरूमा शतप्रतिशत दायित्व नपर्ने देखिएको छ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार ठूलो दाबी रकमको तथ्यांकले लगानीकर्ताहरू त्रसित हुँदा अधिकांश निर्जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको हो। उनले भने, “लगानीकर्ताहरूमा २० अर्बभन्दा बढीको दाबीले कम्पनीहरू डुब्ने गलत धारणा बनेको छ, तर पुनर्बीमाका कारण नेपाली कम्पनीहरूले पूरै रकम बेहोर्नुपर्दैन।”  

उनले थपे, “यी दाबीले कम्पनीहरूको वित्तीय अवस्थामा सामान्य प्रभाव पर्न सक्छ, तर प्यानिक हुने अवस्था छैन। बीमा कम्पनीहरूको चुक्ता पुँजी र बीमा कोष बलियो छ, र व्यवसाय पनि विस्तार भइरहेको छ।”  

ठूलो दाबीले बीमा कम्पनीको नगद प्रवाहमा समस्या आउन सक्ने र वित्तीय दायित्व पूरा गर्न कठिनाइ हुन सक्ने सम्भावना छ। यस्तो जोखिम व्यवस्थापन गर्न बीमा कम्पनीहरूले पुनर्बीमा, जोखिम मूल्यांकन, महाविपत्ती कोष र बीमा कोषको व्यवस्था गरेका छन्।  

यसअघि बाढीपहिरो र तीनकुने हुलदंगाका कारण पनि बीमा कम्पनीहरूमा करोडौंको दाबी परेको थियो, जसले नाफामा असर पारेको थियो। ठूलो दाबीले आर्थिक, प्राविधिक र प्रतिष्ठागत रूपमा कम्पनीहरूलाई असर गर्न सक्छ।

सम्बन्धित समाचार