काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका दौरान भएको सम्पत्ति क्षतिको बीमा दाबीअनुसार निर्जीवन बीमा कम्पनीहरूलाई भुक्तानी शुरू गरेको छ।
कम्पनीका एक उच्च स्रोतका अनुसार, बिहीबारदेखि बीमा दाबी गर्ने कम्पनीहरूबाट प्राप्त दाबीका आधारमा प्रारम्भिक भुक्तानी शुरू गरिएको हो।
नेपाल सरकारले निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने घोषणा गर्दै बीमा दाबीको कम्तीमा ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्ने व्यवस्था गर्ने बताएको थियो। तर, बीमा दाबी भुक्तानी प्रक्रियामा केही कानूनी जटिलताका कारण सरकारले भने अनुसार ५० प्रतिशत अग्रिम भुक्तानी तत्काल गर्न सकिने अवस्था नरहेको स्रोतले जनाएको छ।
नेपाल पुनर्बीमा कम्पनीले तिहारअघि कम्तीमा ४ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार, 'तिहारअघि अधिकतम ४ अर्ब रुपैयाँ भुक्तानी गर्न रकमको व्यवस्था भइसकेको छ। त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको प्रतिवेदन प्राप्त भएपछि सहज रूपमा अगाडि बढाइनेछ।'
कम्पनीको प्रारम्भिक अनुमानअनुसार, जेनजी आन्दोलनका कारण भएको सम्पत्ति क्षतिको बीमा दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ।
त्यस्तै, हालैको भारी र अति भारी वर्षाका कारण भएको क्षतिको बीमा दाबीको प्रारम्भिक अनुमानअनुसार नेपाल पुनर्बीमाले थप १ अर्ब ५० करोड रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ।
वित्तीय प्रभाव कस्तो पर्ला?
कम्पनीका एक उच्च अधिकारीका अनुसार, जेनजी आन्दोलन र बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीले कम्पनीको वित्तीय सन्तुलनमा गम्भीर असर पर्ने निश्चित छ।
'हाम्रो प्रारम्भिक अनुमानअनुसार, अबको ३–४ वर्षसम्म हामी कुनै पनि लाभांश वितरण गर्न सक्ने अवस्थामा हुने छैनौं,' ती अधिकारीले भने, 'यो ठूलो दायित्वका कारण सेयरधनीहरूलाई सबैभन्दा बढी प्रभाव पर्नेछ। उनीहरूले अबका केही वर्ष कुनै प्रतिफलको आशा गर्नु हुँदैन। कम्तीमा यो कारणले कम्पनी टाट नपल्टियो भने त्यो नै ठूलो कुरा हुनेछ।'
