काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूबाट बीमालेख सरेण्डरमार्फत बाहिरिएको रकम चालु आर्थिक वर्षको भदौसम्म ९.१८ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार, चालु आवको पहिलो दुई महिनामा २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बीमालेख सरेण्डरमार्फत बाहिरिएको छ, जुन गत वर्षको सोही अवधिको २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँभन्दा कम हो।
बीमालेख सरेण्डर गर्ने बीमितको संख्यामा पनि कमी आएको छ। गत वर्षको भदौसम्म १९ हजार ७४१ जनाले बीमालेख सरेण्डर गरेका थिए भने चालु वर्षको भदौसम्म यो संख्या १५ हजार ८९८ मा झरेको छ, जुन १९.४७ प्रतिशतले कम हो।
यता, जीवन बीमाका व्यतित (नविकरण नभएका) बीमालेखको रकम र संख्या भने बढेको छ। गत वर्षको भदौसम्म ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ बराबरको बीमा रकम नविकरण भएको थिएन, तर चालु वर्षको भदौसम्म यो रकम ५.०७ प्रतिशतले बढेर ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, नविकरण नभएका बीमालेखको संख्या २.७९ प्रतिशतले बढेर ११ लाख ८० हजार ६१६ बाट १२ लाख १३ हजार ५६२ पुगेको छ।
पोलिसी सरेण्डरदर घट्नु सकारात्मक भए पनि नविकरण नहुने बीमालेखको संख्या र रकमको वृद्धि बीमा कम्पनीहरूका लागि चिन्ताको विषय बनेको छ। नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू र अभिकर्ताहरूको जनचेतनामूलक प्रयासले सरेण्डरदरमा केही कमी आएको मानिन्छ। केही समयअघि राजनीतिक अस्थिरता र सहकारी संकटका कारण बीमितहरूले प्रिमियम जोखिममा परेको ठानी पोलिसी सरेण्डर गर्ने प्रवृत्ति बढेको थियो, तर हाल यो प्रवृत्तिमा कमी आएको देखिन्छ।
तैपनि, व्यतित बीमालेख र नविकरण नहुने बीमितको संख्या बढ्दै जानु बीमा क्षेत्रको दीर्घकालीन स्थिरताका लागि चुनौतीपूर्ण बन्न सक्छ।
