काठमाडौँ — पछिल्ला केही दिनयता हिमालयन बैंकको डिजिटल बैंकिङ तथा एटीएम सेवामा निरन्तर अवरोध उत्पन्न भएको भन्दै ग्राहकहरूबाट गुनासो बढ्दै गएको छ। बैंकले गत असोज ३० गते प्रणाली स्तरोन्नति गर्ने जानकारी दिँदै कार्तिक ३ देखि १० गतेसम्म सेवा बन्द हुने सूचना जारी गरेको थियो। सो अवधिभर ग्राहकहरूले धैर्यता अपनाएका थिए।
तर, कार्तिक ११ गतेदेखि सुचारु हुने भनिएको सेवा निर्धारित समयमा सञ्चालनमा आउन सकेन। बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवामा अवरोध आएकाले गुणस्तरीय तथा उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले केही ढिलाइ भएको भन्दै ग्राहकसँग माफी मागेको थियो।
यद्यपि, कार्तिक १२ र १३ गते बितिसक्दा पनि हप्तौँसम्म सेवा नियमित हुन नसकेपछि ग्राहकहरू तनावमा परेका छन्। समस्याबारे जानकारी लिन खोज्दा बैंकका कर्मचारीहरूले फोनसमेत नउठाउने गरेको गुनासो आमग्राहकबाट आएको छ।
डिजिटल तथा एटीएममार्फत कारोबार गर्ने लाखौँ ग्राहकहरू बैंकको यस प्रकारको लापरबाहीका कारण अन्योलमा परेका छन्। विदेशमा बस्ने केही ग्राहकहरूले सामाजिक सञ्जालमा बैंकप्रति आक्रोश व्यक्त गर्दै आफ्नो सात पुस्तासम्म कारोबार नगर्ने प्रतिबद्धता जनाएका छन्।
बैंकको फेसबुक पृष्ठमा ग्राहकहरूले ‘हिमालयन बैंक चोर हो’, ‘यो बैंक होइन, सहकारी ठगी हो’, ‘एउटा एप अपडेट गर्न यति समय किन ?’, ‘यस्तो बैंकमा अब कसैले पनि कारोबार नगर्नू’ जस्ता नकारात्मक टिप्पणी गरेका छन्।
‘आजको अर्थ’सँग कुरा गर्दै एक ग्राहकले एटीएममा पनि निरन्तर समस्या रहेको बताए। उनले भने, “एटीएम प्रयोगबापत शुल्क लिने तर सेवा नदिने, पैसा काटिएर नोटिफिकेसन आउने तर नगद ननिस्कने, रिफन्डमा ४–५ दिन लाग्ने, शाखामा गएर फारम भर्नुपर्ने तर पनि लामो समय कुर्नुपर्ने समस्या छ। तीन वर्षको एटीएम शुल्कबापत रु. १,५०० काटिएको छ, जबकि अन्य बैंकहरूमा वार्षिक रु. २५० मात्र लिने गरिएको छ।”
बैंकका कर्मचारीसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूले ‘सामान्य समस्या’ भन्दै जवाफ दिनबाट पन्छिएका छन्।
