काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।
समता एजुकेशन फाउन्डेसन नेपालको शिक्षा क्षेत्रमा क्रियाशील एक गैरनाफामूलक संस्था हो, जसले ‘शिक्षा सबैका लागि’ मूल उद्देश्यका साथ आर्थिक रूपले विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। संस्थाले विभिन्न जिल्लामा सञ्चालित समता विद्यालयहरूमा मासिक मात्र १०० रुपैयाँ शुल्कमा शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीलाई लाभान्वित गरिरहेको छ।
प्राप्त सहयोग रकम फाउन्डेसनले विपन्न तथा मेधावी विद्यार्थीहरूका लागि पाठ्यपुस्तक, कपी, पोसाक, स्टेसनरी जस्ता शैक्षिक सामग्री खरिद, भौतिक पूर्वाधार सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा उपयोग गर्नेछ। यसबाट शिक्षामा पहुँच नपुगेका बालबालिकाको निरन्तर अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विद्यालय व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य गर्दै सामाजिक दायित्वलाई थप सुदृढ बनाउने योजना बनाएको छ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा विस्तार गरेको छ। यसको चुक्ता पुँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढी लगानी परिचालन भइसकेको छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।
