काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीमा परेका व्यवसायीहरूको समस्या समाधानका लागि उपाय खोजी भइरहेको बताएका छन् । उनले उद्यमी–व्यवसायीहरूको लगानी वातावरण कमजोर भएको उल्लेख गर्दै जेनजी आन्दोलन मात्र यसको एकमात्र कारण नभएको स्पष्ट पारे ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सबैतिरबाट अत्यधिक कडाइ गर्दा उद्यमशीलता विकास हुन नसक्ने बताए । बैंक तथा वित्तीय संस्थाको स्थिति सुधारका लागि व्यवसायीहरूको अवस्था मजबुत हुनु आवश्यक रहेको उनको भनाइ छ ।
लोन लस प्रोभिजनको वर्तमान व्यवस्थामा परिवर्तन गर्ने संकेत दिंदै उनले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर आगामी रणनीति तयार गरिने जानकारी दिए । साना–साना रिटेल कार्यहरू राष्ट्र बैंकले गर्दै आएको उल्लेख गर्दै ती कामहरू अब बैंक तथा वित्तीय संस्थाबाटै हुने व्यवस्थाको तयारी भइरहेको उनले बताए ।
वर्तमान पुस्ता डिजिटलाइजेशनप्रति अत्यधिक आकर्षित रहेको हुँदा लगानीका क्षेत्रहरू पनि सोही दिशामा उन्मुख भएको उनले जोड दिए । व्यवसायिक वातावरण निर्माण र सहजीकरणका लागि आफू पूर्णतः प्रतिबद्ध रहेको गभर्नर पौडेलको भनाइ छ ।
