Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सन्दीप जलानको विवादास्पद खेल : एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणका प्रमुख योजनाकर्ता

सन्दीप जलानको विवादास्पद खेल : एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणका प्रमुख योजनाकर्ता

अर्थ प्लस
सन्दीप जलानको विवादास्पद खेल : एनआरएन इन्साइडर ट्रेडिङ प्रकरणका प्रमुख योजनाकर्ता

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) को सेयर मूल्यमा भएको योजनाबद्ध चलखेल र इन्साइडर ट्रेडिङको खेलमा नेपाली सेयर बजारका विवादास्पद ब्रोकर सन्दीप जलानको समूह नै मुख्य रूपमा संलग्न रहेको धितोपत्र बोर्ड (सेबोन) को अनुसन्धानबाट खुलेको छ।

सेबोनका एक उच्च अधिकारीका अनुसार, यसअघि चिलिमे, नेशनल हाइड्रो, सानिमा माई हाइड्रो लगायतका कम्पनीहरूको नक्कली सेयर प्रमाणपत्र जारी गरेर करोडौं कमाएको र सर्वोच्च अदालतबाटै दोषी ठहर भइसकेका ब्रोकर सन्दीप जलानको समूह नै एनआरएनको इन्साइडर ट्रेडिङमा संलग्न देखिएको हो।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कडा निर्देशनपछि छानबिन टोलीले उच्च मनोबलका साथ काम गरिरहेको छ। एनआरएन मात्र होइन, जलान समूहले सेयर बजारमा लामो समयदेखि अनैतिक कारोबार, कृत्रिम मूल्य वृद्धि, ग्रुप ट्रेडिङ तथा अन्य गैरकानूनी गतिविधि गर्दै आएको भन्दै परेका थप उजुरीहरूलाई पनि आधार बनाएर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।

गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको छलफलमा अख्तियार प्रमुख प्रेमकुमार राईले पुराना थन्किएका फाइलहरूलाई कार्यान्वयनमा ल्याउन र वर्तमान अनुसन्धानहरूलाई पारदर्शी रूपले टुंगोमा पुर्‍याउन सेबोनलाई स्पष्ट निर्देशन दिएका थिए। विशेष गरी एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई मुक्त गर्न सम्पत्ति शुद्धीकरण र गैरकानूनी कारोबारमा संलग्नमाथि कडा कारबाही आवश्यक रहेको उनले जोड दिएका थिए। यो निर्देशनपछि एनआरएन प्रकरणलाई चाँडै निष्कर्षमा पुर्‍याएर दोषीमाथि कडा सजाय गर्न सेबोनमाथि ठूलो दबाब परेको देखिन्छ।

स्रोतका अनुसार, एनआरएनका सञ्चालक समिति अध्यक्ष सिताराम थपलियाले जलानको इसारामा विभिन्न निर्णय गराएको र काम कारबाही अघि बढाएको प्रमाण फेला परेको छ। “यो समग्र खेलको मास्टरमाइन्ड जलान नै देखिएका छन्। उनले जे भने, थपलियाले सञ्चालक समितिबाट त्यही निर्णय गराएर कार्यान्वयन गरेका छन्,” स्रोतले भन्यो। इन्साइडर ट्रेडिङलाई सफल बनाउन दक्षिण भारतीय थ्रिलर फिल्मभन्दा पनि जटिल र सुनियोजित स्क्रिप्ट तयार पारिएको अनुसन्धानबाट खुलेको छ।

एनआरएनकै एक सञ्चालकको पनि यो प्रकरणमा संलग्नता पुष्टि हुने कागजात अनुसन्धान टोलीले भेट्टाएको छ भने उनको कारोबार इतिहासलाई पनि गहिराइमा केलाउने काम भइरहेको छ।

यसैगरी, जलानले ५८ नम्बर ब्रोकर कम्पनी नासा सेक्युरिटिजको स्वामित्व आफन्त र नजिकका व्यक्तिको नाममा नामसारी गरे पनि वास्तविक नियन्त्रण आफैंसँग रहेको र सोही कम्पनीमार्फत अन्य धेरै कम्पनीमा चलखेल गरिएको पाइएको छ। पछिल्लो एक वर्षमा यो समूहले अस्वाभाविक रूपमा मूल्य बढाएका कम्पनीहरू र तिनमा भएको कारोबारको प्रकृतिलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ।

यता, सन्दीप जलानले भने आफू निकटस्थहरूसँग “सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले चाहेर पनि आफूलाई केही गर्न नसक्ने” र “आफूसँग सबैतिर पावर रहेको” भन्दै हिँडेको बुझिएको छ।

जलानसँग उनको शंकास्पद भूमिकाबारे प्रतिक्रिया माग्दा उनले सञ्चारमाध्यममा जे लेखे पनि आफूलाई फरक नपर्ने बताएका छन्। यसअघि नक्कली सेयर प्रमाणपत्र प्रकरणमा सर्वोच्च अदालतबाटै दोषी ठहर भएको विषयमा सोधिएको प्रश्नमा उनले सन्देशमार्फत जवाफ दिएका थिए, “त्यो पनि लेख्नुस्।”

यसअघि प्रकाशित समाचार :

सीताराम थपलियालाई एनआरएनको सूचना चुहाएको र ब्रोकर ट्रेडिङ रुम दुरुपयोग गरेको आरोप

सम्बन्धित समाचार