Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अटो बजारमा रौनक फर्किने संकेत, हायर पर्चेज लोनमा उल्लेख्य वृद्धि

अटो बजारमा रौनक फर्किने संकेत, हायर पर्चेज लोनमा उल्लेख्य वृद्धि

अर्थ प्लस
अटो बजारमा रौनक फर्किने संकेत, हायर पर्चेज लोनमा उल्लेख्य वृद्धि

काठमाडौं । लामो समयसम्म सुस्ताएको नेपालको अटो बजारमा पुनः रौनक देखिन थालेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने हायर पर्चेज लोन (सवारी कर्जा) मा उल्लेख्य वृद्धि भएसँगै यो क्षेत्र चलायमान बन्दै गएको तथ्यांकले देखाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २९ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले बढी हो (गत वर्ष असोजसम्म १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ थियो)।

वाणिज्य बैंकहरूबाट मात्रै असोज मसान्तसम्म १ खर्ब १४ अर्ब १ करोड ८४ लाख रुपैयाँ सवारी कर्जा वितरण भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो।

समिक्षा अवधिमा एभरेष्ट बैंकको सवारी कर्जा सबैभन्दा धेरै ८८.८७ प्रतिशतले वृद्धि भएको छ भने नेपाल एसबीआई बैंकको ४५.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४४.५८ प्रतिशत, कृषि विकास बैंकको ३४.३८ प्रतिशत र सानिमा बैंकको १३.१६ प्रतिशतले बढेको छ।

यता, एनआईसी एशिया बैंकको सवारी कर्जा भने सबैभन्दा धेरै ४०.८९ प्रतिशतले घटेको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्डको ३९.७९ प्रतिशत, कुमारीको ३२.६७ प्रतिशत, नेपाल बैंकको १९.०७ प्रतिशत, लक्ष्मी सनराइजको १०.४६ प्रतिशत र माछापुच्छ्रेको ९.९८ प्रतिशतले कमी आएको छ।

रकमको हिसाबले सबैभन्दा बढी सवारी कर्जा ग्लोबल आईएमई बैंकले प्रवाह गरेको छ, जसको पोर्टफोलियो १५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकको सवारी कर्जा ११ अर्ब ७० करोड ३६ लाख रुपैयाँ छ। यी दुवै बैंकको सवारी कर्जा गत वर्षको तुलनामा क्रमशः ४.४५ प्रतिशत र ४.८१ प्रतिशतले बढेको छ।

समग्रमा सवारी कर्जाको बढ्दो प्रवृत्तिले अटो बजारमा देखिएको सुस्तता क्रमशः हट्दै गएको र उपभोक्ताको आत्मविश्वास फर्किन थालेको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचार