काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइएको छ। अब यस्तो कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखेको भन्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने समेत आफ्नो नीतिमा उल्लेख गरेको छ ।
