काठमाण्डौ । जेनजी आन्दोलनपछिको अस्पष्ट राजनीतिक परिदृश्यले नेपालका सेयरबजारमा अनिश्चितता कायम राखेको छ। बजार अझै संवेदनशील अवस्थामा रहे पनि लगानीकर्ताको मनोबल पूर्ण रूपमा उकासिन सकेको छैन। राजनीतिक समाचार र नीतिगत निर्णयले प्रत्यक्ष प्रभाव पार्ने भएकाले लगानीकर्ताहरू हाल ‘पर्ख र हेर’को मनोवृत्तिमा सीमित छन्।
पछिल्लो बजार चालले स्थिर सरकार, अनुशासित राजनीतिक वातावरण र समयमै निर्वाचनको स्पष्टता खोजिरहेको देखिन्छ। निजी क्षेत्र र लगानीकर्ताले सरकारप्रति अझै पूर्ण विश्वास गर्न नसकेको कारण कारोबार रकम उल्लेखनीय रूपमा बढ्न सकेको छैन। सूचकमा स-सानो उतारचढाव देखिनु लगानीकर्ताको सतर्कता र प्रतीक्षारत अवस्थाको द्योतक हो।
तर, लामो समयपछि आज सेयरबजार ४७ अंकले उकालो लाग्दै २६ सय विन्दुमाथि पुगेको छ। प्रमुख दलका नेताहरूले प्रधानमन्त्रीसँग भेट गरी समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएपछि लगानीकर्तामा आशा पलाएको छ। साथै, रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच भएको ७ बुँदे सहमतिले बजारको मनोबलमा थप सकारात्मक प्रभाव पारेको छ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमै हुने अपेक्षा जनस्तरमा बढ्दै गएको छ। यसले अन्यौलग्रस्त राजनीतिक अवस्था अन्त्य हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास लगानीकर्तामा विस्तारै विकास गराइरहेको छ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार दलहरू निर्वाचन केन्द्रित बन्दै गएका कारण लगानीकर्ताको मनोबल बढ्न थालेको छ। उनले भने, “सेयरबजारले मुख्य रूपमा समयमै चुनाव र त्यसपछिको स्थिर सरकार खोजिरहेको हो। फागुन २१ मै निष्पक्ष चुनाव हुने सुनिश्चितता बढ्दै जाँदा लगानीकर्तामा नयाँ उर्जा थपिएको छ।”
ढकालले बालेन साह र रवि लामिछानेबीचको सहमतिले पनि लगानीकर्तामा उत्साह थपेको बताए। उनका अनुसार परिस्थिति सकारात्मक बन्दै गयो भने बजार क्रमशः माथि जानेछ र संस्थागत लगानीकर्ताको सहभागिता बढ्नेछ।
त्यसैगरी, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि लगानीकर्ताको प्रमुख अपेक्षा समयमै निर्वाचन र चुनावपछिको स्थिर सरकार नै भएको बताए। उनका अनुसार दलहरूबीच सहकार्य र सहमति सामान्य भए पनि अहिले सबै दल चुनाव केन्द्रित छलफलमा जुटेकाले बजारमा सकारात्मक छाप परेको छ।
फुलेलले हालको सुधारलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै भने, “सेयरबजार अन्ततः अर्थतन्त्रसँग जोडिएको विषय हो। चुनावी गतिविधिसँगै अर्थतन्त्र चलायमान हुँदै जान्छ र त्यसको प्रभाव बजारमा देखिन्छ।”
बजार विश्लेषक अजय सिंह थापा (जय शम्भु) भने हालको बढोत्तरीलाई सामान्य सुधारको रूपमा हेर्नुपर्ने बताउँछन्। उनका अनुसार बजारले अघिल्लो उच्च विन्दु तोड्न सके मात्र दिगो वृद्धि सम्भव हुन्छ। उनले चेतावनी दिँदै भने, “क्षणिक समाचारले बजारलाई चलायमान बनाए पनि दीर्घकालीन आत्मविश्वास फर्काउन अझै समय लाग्छ।”
थापाले अनुमान गरेअनुसार, सकारात्मक समाचार निरन्तर आइरहे र बजार लगातार उकालो लाग्न सकेमा २७५०–२८०० विन्दुसम्म पुग्न सक्छ। अत्यन्त राम्रो भए ३ हजार विन्दुसम्म पुग्ने सम्भावना देखिए पनि हाललाई त्यसभन्दा माथि जाने अवस्था कमजोर छ।
