काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ। माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गते बिहान ११ बजे काठमाण्डौस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, यससम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र पाँच जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। कम्पनीले रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता सेयर (कुल १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबर) निष्कासन गर्ने तयारी गरेको छ। यस आईपीओको प्रत्याभुतिकर्ता नागरिक लगानी कोष (CIT) रहनेछ।
युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजना हाल निर्माणाधीन अवस्थामा छ, जसको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत (करीब ६७ करोड रुपैयाँ) लगानी रहेको छ। ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नं. ३, ४ र ५ मा निर्माणाधीन आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ऋण लगानी गरिएको छ। आयोजनाको कुल लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
