पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालू आवको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि, गत आवको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो। चालू आवको ६ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।
त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ। चालू आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।
त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ। २७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।
