काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीले उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा १४७.९३ प्रतिशतले बढी हो। अघिल्लो आवमा यस अवधिसम्म कम्पनीको नाफा १ करोड ८६ लाख रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। यस त्रैमासमा कम्पनीले १३ करोड ४४ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४५.९७ प्रतिशतले बढी हो। अघिल्लो आवमा सोही अवधिसम्म बिक्री आम्दानी ९ करोड २१ लाख रुपैयाँ थियो।
कम्पनीको वित्तीय आम्दानी २८ लाख ८२ हजारबाट बढेर ८९ लाख ४७ हजार पुगेको छ भने वित्तीय खर्च ४.६८ करोडबाट घटेर ३.२२ करोडमा सीमित भएको छ। प्रशासनिक तथा साधारण खर्च ७७ लाख ३८ हजारबाट घटेर ३५ लाख ३६ हजारमा पुगेको छ। तर साधारण तथा वितरण खर्च भने १ करोड ८१ लाखबाट बढेर २ करोड १४ लाख पुगेको छ।
कम्पनीको कुल चालु सम्पत्ति ७१ करोड ६३ लाख र कुल चालु दायित्व १२ करोड ४० लाख रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ४४ गुणा र तरलता अनुपात ५.७८ प्रतिशत कायम भएको छ।
