काठमाडौँ / विश्व प्रसिद्ध प्रविधि कम्पनी Xiaomi ले नेपाली बजारमा नयाँ स्मार्टफोन Redmi A7 Pro सार्वजनिक गरेको छ । कम्पनीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित उक्त स्मार्टफोन बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार रेडमी ए–सेभेन–प्रो मा ठूलो ब्याट्री, ठूलो डिस्प्ले तथा सुधारिएको सफ्टवेयर अनुभव उपलब्ध गराइएको छ । यो स्मार्टफोन सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार रंगमा उपलब्ध रहेको छ ।
फोनमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ एमएम स्लिम बडी रहेको छ । साथै, १२० हर्जसम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले प्रयोगकर्ताले स्मूथ अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउने तथा डीसी डिमिङ प्रविधिले आँखाको थकान कम गर्न सहयोग गर्ने बताइएको छ ।
स्मार्टफोनमा ६००० एमएएच क्षमताको ब्याट्री र १५ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । कम्पनीका अनुसार एकपटक चार्ज गर्दा फोन करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा तथा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि राम्रो तस्बिर खिच्न सकिने कम्पनीले जनाएको छ ।
यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा, Wet Touch Technology 2.0 तथा Xiaomi HyperOS सपोर्ट उपलब्ध रहेको छ । साथै, फोनमा २ टीबीसम्म एक्सटेन्डेबल स्टोरेज सपोर्ट पनि रहेको छ ।
४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रेडमी ए–सेभेन–प्रो को नेपाली बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
