Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

अर्थ प्लस
एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

 काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने संस्था भएको उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुली नभएको खण्डमा बैंकलाई विशेष अधिकार दिएको र सो कार्य गर्नु सीइओको मुख्य दायित्व भएको संगठनहरूको तर्क छ ।

‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउन सक्ने र वित्तीय स्थायित्वमा नै आँच आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकिङ क्षेत्रका संगठनहरूले ‘पहिले सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात गर्न आग्रह गर्दै पाण्डेलाई यथाशिघ्र थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका लागि थुनामै राख्नु नपर्ने उनीहरूको माग छ ।

सम्बन्धित समाचार