Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

देशको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, १० महिनामै थपियो ३खर्ब बढी

देशको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, १० महिनामै थपियो ३खर्ब बढी

अर्थ प्लस
देशको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, १० महिनामै थपियो ३खर्ब बढी

काठमाडौं– मुलुकको सार्वजनिक ऋणको भार लगातार बढ्दै गइरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म आइपुग्दा देशको कुल सार्वजनिक ऋण झन्डै ३० खर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर हो ।

आर्थिक वर्ष सुरु हुँदा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो । तर १० महिनामै ऋण दायित्व ३ खर्ब रुपैयाँभन्दा बढीले बढेको छ । नयाँ ऋण थपिनुका साथै विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले पनि ऋणको आकार फुलाएको हो ।

नेपालको कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा अझै उच्च देखिएको छ । हाल ५३.५७ प्रतिशत बाह्य ऋण र ४६.४३ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयको तथ्यांक छ । अमेरिकी डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँ कमजोर भएकाले बाह्य ऋणको भार थप बढेको हो । विनिमय दरकै उतारचढावका कारण मात्रै १६ अर्ब ७७ करोड रुपैयाँ बराबरको अतिरिक्त दायित्व थपिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर वैशाख मसान्तसम्म ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ मात्रै ऋण परिचालन हुन सकेको छ ।

ऋण उठाउनेभन्दा तिर्ने दबाब भने सरकारमाथिअझै भारी बन्दै गएको देखिन्छ । चालु आर्थिक वर्षमा साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ छुट्याइएकोमा १० महिनामै २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल विनियोजित रकमको ७१.१७ प्रतिशत हो ।

सार्वजनिक ऋणको खुद परिचालन भने १ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ मात्रै रहेको छ । अर्थात् सरकारले उठाएको नयाँ ऋणको ठूलो हिस्सा विकास खर्चभन्दा पुरानो ऋणको साँवा र ब्याज तिर्नमै खर्च भइरहेको अवस्था देखिएको छ ।

सम्बन्धित समाचार