काठमाडौं/ नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB ग्राहकहरूलाई सहज, छिटो र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गर्नुभएको हो।
समझदारीअनुसार JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा (Finance Facility) उपलब्ध गराउनेछ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रिया थप सरल र छरितो बनाउँदै आवश्यक कागजात पूरा भएको अवस्थामा अधिकतम ७ कार्यदिनभित्र डेलिभरी अर्डर (DO) जारी गर्ने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई समयमै उपकरण प्राप्त गर्न र व्यवसाय सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो सहकार्यले एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदमा सहज वित्तीय पहुँच प्रदान गर्ने विश्वास गरिएको छ।
दुवै संस्थाले ग्राहक सन्तुष्टि, सेवा विस्तार र व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि यस्तै ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
