नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको पुँजि बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त लिए ।
अध्यक्ष डा. भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।
शुभकामना आदान प्रदानसँगै दुवै पक्ष बिच नेपालको पुँजि बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमा विस्तृत छलफल भएको थियो । विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) तथा प्राइभेट इक्विटी सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिबृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजि बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षबीच जोड दिइएको थियो । भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
अन्त्यमा, नेपाल मर्चेन्ट बैंकर्स संघले र सेबोन दुवैले नेपालको पुँजि बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
