काठमाडौँ / नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
उच्च मूल्यका बाबजुद भरपर्दोपन, सुरक्षा, अफरोड क्षमता, उच्च पुनर्बिक्री मूल्य (रिसेल भ्यालु) तथा सामाजिक प्रतिष्ठाका कारण ल्यान्ड क्रुजर उच्च आय भएका ग्राहकको प्रमुख रोजाइ बनेको हो।
नेपालको भौगोलिक बनावट, सडकको अवस्था र ग्राहकको बदलिँदो आवश्यकताअनुसार टोयोटाका प्रिमियम एसयूभी मोडलहरू लोकप्रिय बन्दै गएका छन्।
विशेषगरी ल्यान्ड क्रुजर २५० र ३०० सिरिज उद्योगी–व्यवसायी, उद्यमी तथा राजनीतिक नेतृत्वबीच बढी रुचाइएका मोडल हुन्।
नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले करिब ६ दशकदेखि बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका सेल्स म्यानेजर सन्तोष कार्कीका अनुसार देशभर फैलिएको सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको सहज उपलब्धताले ग्राहकको विश्वास अझ बलियो बनाएको छ।
वैद्य अर्गनाइजेसनले सन् २०२४ मा नेपाली बजारमा ल्यान्ड क्रुजर २५० सार्वजनिक गरेको थियो। हाल यसको टप भेरियन्ट ३ करोड ७९ लाख रुपैयाँ र अर्को ‘अलराउन्डर’ भेरियन्ट ३ करोड २२ लाख रुपैयाँमा उपलब्ध छ।
त्यस्तै, ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकिएको छ।
कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठका अनुसार पछिल्ला वर्षहरूमा प्रिमियम गाडीको माग उल्लेख्य रूपमा बढेको छ।
उनका अनुसार अफरोड क्षमता, टिकाउपन, स्पेयर पार्ट्सको उपलब्धता तथा उच्च पुनर्बिक्री मूल्यका कारण ल्यान्ड क्रुजर २५० र ३०० सिरिजको बिक्री सन्तोषजनक रहेको छ।
“कहिलेकाहीँ मूल्यभन्दा पनि सुरक्षा र आराम महत्त्वपूर्ण हुन्छ। टोयोटा चलाउँदा गन्तव्यमा पुगेर सुरक्षित फर्किने विश्वास हुन्छ,” श्रेष्ठले भने, “महँगो भए पनि ग्राहकले गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिने गरेका छन्।”
कम्पनीका अनुसार ल्यान्ड क्रुजरमा ८–९ वटासम्म एयरब्याग, अत्याधुनिक सुरक्षा प्रणाली, उत्कृष्ट सस्पेन्सन र इलेक्ट्रोनिक पावर स्टेरिङजस्ता सुविधा उपलब्ध छन्।
यसले दुर्गम तथा अफरोड क्षेत्रमा पनि सहज यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
ब्रान्ड रणनीतिकार प्रशान्त खत्रीका अनुसार नेपाली समाजमा आर्थिक रूपमा सफल भएपछि टोयोटा, विशेषगरी ल्यान्ड क्रुजर किन्ने प्रवृत्ति स्थापित हुँदै गएको छ।
उनका अनुसार यो गाडीले मालिकको सामाजिक प्रतिष्ठा झल्काउनुका साथै पुराना मोडलहरू पनि राम्रो मूल्यमा बिक्री हुने भएकाले धेरैले यसलाई दीर्घकालीन लगानीका रूपमा समेत लिने गरेका छन्।
उनका अनुसार हाल ल्यान्ड क्रुजरका प्रमुख ग्राहक व्यवसायी, उद्यमी, उच्च आय भएका व्यक्ति तथा राजनीतिक व्यक्तित्व हुन्।
पछिल्लो समय युवा पुस्तामा पनि यसको आकर्षण बढ्दै गएको छ। “यसको रोड प्रेजेन्स निकै दमदार छ। बजारमा अझ महँगा गाडी भए पनि ल्यान्ड क्रुजर सडकमा गुड्दा छुट्टै पहिचान बनाउँछ,” उनले भने।
कोभिडपछि बिक्रीमा सुधार
कम्पनीका अनुसार भूकम्पले बिक्रीमा खास असर नपारे पनि कोभिड–१९ महामारीका बेला प्रिमियम गाडीको बिक्री घटेको थियो।
आर्थिक गतिविधि सामान्य बन्दै गएपछि अहिले बिक्री पुनः बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ। यद्यपि सेयर बजारको उतारचढावले प्रिमियम गाडीको मागमा केही प्रभाव पार्न सक्ने कम्पनीको भनाइ छ।
इभिभन्दा फरक ग्राहक वर्ग
कम्पनीका अनुसार ल्यान्ड क्रुजर खरिद गर्ने ग्राहक र विद्युतीय सवारी (इभि) खरिद गर्ने ग्राहकको वर्ग फरक छ। दैनिक सहरी प्रयोगका लागि इभि लोकप्रिय बन्दै गए पनि लामो दूरी, दुर्गम तथा अफरोड यात्राका लागि डिजेल एसयूभी, विशेषगरी टोयोटा ल्यान्ड क्रुजर, अझै पनि धेरै ग्राहकको पहिलो रोजाइ रहेको कम्पनीले जनाएको छ।
