Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेपालमा नयाँ विद्युतीय पिकअप ‘म्याक्सस ईटेरोन ९ कम्फर्ट’ सार्वजनिक

नेपालमा नयाँ विद्युतीय पिकअप ‘म्याक्सस ईटेरोन ९ कम्फर्ट’ सार्वजनिक

अर्थ प्लस
नेपालमा नयाँ विद्युतीय पिकअप ‘म्याक्सस ईटेरोन ९ कम्फर्ट’ सार्वजनिक

काठमाडौं । नेपालमा ठूलो ब्याट्री र लामो दूरी चल्न सक्ने नयाँ विद्युतीय पिकअप म्याक्सस ईटेरोन ९ कम्फर्ट सार्वजनिक गरिएको छ । म्याक्सस ब्रान्डको आधिकारिक आयातकर्ता हिमालय मोट्रक्स प्रालिले यो गाडी नेपाली बजारमा ल्याएको हो ।

कम्पनीले यो पिकअपको सुरुआती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । यो विशेष मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने जनाएको छ ।

यो गाडीमा १०२।२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यो गाडी ५६० किलोमिटरसम्म चल्न सक्छ ।

यसमा ११५ किलोवाटको डीसी फास्ट चार्जिङ सुविधा छ । यसबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमा चार्ज गर्न सकिन्छ ।

गाडीमा अगाडि र पछाडि गरी दुईवटा विद्युतीय मोटर छन् । यी मोटरले संयुक्त रूपमा ७०० एनएम टर्क उत्पादन गर्छन् । गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५।८ सेकेन्डमा लिन सक्छ भने अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा छ ।

म्याक्सस ईटेरोन ९ कम्फर्टले १,०५० किलोग्रामसम्म सामान बोक्न सक्छ । साथै, ३,५०० किलोग्रामसम्म तान्ने (टोइङ) क्षमता पनि रहेको कम्पनीले जनाएको छ ।

नेपालका विभिन्न सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर यसमा विभिन्न ड्राइभिङ मोड राखिएको छ । यो गाडीले ५४५ मिलिमिटरसम्म गहिरो पानी पनि पार गर्न सक्छ ।

आरामदायी यात्राका लागि डबल विशबोन अगाडिको सस्पेन्सन र मल्टी–लिंक पछाडिको सस्पेन्सन दिइएको छ ।

गाडीको भित्र १२.३ इन्चको डिजिटल डिस्प्ले र १२.३ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, स्वचालित एसी, विद्युतीय चालक सिट, यूएसबी र टाइप–सी चार्जिङ पोर्टलगायत सुविधा छन् । साथै, चाबी ननिकाली गाडी खोल्ने र स्टार्ट गर्ने, स्वचालित हेडलाइट र वाइपर तथा ‘भेइकल-टु–लोड’ सुविधा पनि उपलब्ध छ ।

सुरक्षातर्फ यो गाडीले युरो एनक्यापबाट फाइभ स्टार सुरक्षा मूल्यांकन प्राप्त गरेको कम्पनीले जनाएको छ ।

हिमालय मोट्रक्सका अनुसार बिक्रीपछिको सेवाका लागि नेपालका ६ प्रमुख सहरमा सेवा केन्द्र सञ्चालनमा छन् ।

कम्पनीले ठूलो ब्याट्री, लामो रेन्ज, चारपांग्रे (फोर–ह्विल) विद्युतीय प्रणाली तथा उच्च सामान बोक्ने क्षमताका कारण म्याक्सस ईटेरोन ९ कम्फर्ट नेपाली विद्युतीय पिकअप बजारमा आकर्षक विकल्प बन्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार