Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

वैदेशिक व्यापार पहिलाे पटक २४ खर्ब नाघ्याे, व्यापार घाटा निराशाजनक

वैदेशिक व्यापार पहिलाे पटक २४ खर्ब नाघ्याे, व्यापार घाटा निराशाजनक

कुल व्यापारको आकार नयाँ उचाइमा पुगे पनि आयात र निर्यातबीचको असन्तुलन अझ गहिरिँदा मुलुकको व्यापार घाटामा पनि उल्लेखनीय वृद्धि

अर्थ प्लस
वैदेशिक व्यापार पहिलाे पटक २४ खर्ब  नाघ्याे, व्यापार घाटा निराशाजनक

काठमाडौँ / नेपालको वैदेशिक व्यापारले आर्थिक वर्ष २०८२/८३ मा इतिहासमै पहिलो पटक २४ खर्ब रुपैयाँको सीमा पार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आवमा कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।

यद्यपि, कुल व्यापारको आकार नयाँ उचाइमा पुगे पनि आयात र निर्यातबीचको असन्तुलन अझ गहिरिँदा मुलुकको व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ। विभागका अनुसार गत आवमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो।

आयातमा दोहोरो अंकको वृद्धि

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबर थियो।

निर्यात पनि बढेको छ। गत आवमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्, जुन अघिल्लो वर्षको २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको तुलनामा १३.८१ प्रतिशत बढी हो। यद्यपि आयातको वृद्धिदर निर्यातभन्दा उच्च रहेकाले व्यापार सन्तुलनमा खास सुधार आउन सकेको छैन।

व्यापारमा आयातकै वर्चस्व

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा अझै अत्यधिक रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा कुल व्यापारमा आयातको हिस्सा ८६.६९ प्रतिशत रहेकामा गत आवमा बढेर ८६.९३ प्रतिशत पुगेको छ।

त्यसैगरी निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ। यसले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको संकेत गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा आयात–निर्यात अनुपात ६.६५ पुगेको छ। अघिल्लो वर्ष यो अनुपात ६.५१ थियो। अर्थात् नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा विदेशबाट ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ।

१३४ देशसँग व्यापार घाटा

गत आर्थिक वर्षमा नेपालले विश्वका १६० भन्दा बढी देशसँग व्यापार गरे पनि १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ भने २८ देशसँग मात्र व्यापार नाफा गरेको छ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। विभागका अनुसार गत आवमा भारतबाट १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसअनुसार भारतसँग मात्रै नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ। चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट १ अर्ब ८९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यसअनुसार चीनसँगको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

यसैगरी अर्जेन्टिनासँग १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी, संयुक्त अरब इमिरेट्ससँग ५० अर्ब ३२ करोड रुपैयाँ, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड रुपैयाँ, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड रुपैयाँ, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड रुपैयाँ, ब्राजिलसँग १७ अर्ब ७० करोड रुपैयाँ, मलेसियासँग १५ अर्ब २६ करोड रुपैयाँ तथा अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको तथ्यांकमा उल्लेख छ।

२८ देशसँग मात्रै नाफा

नेपालले डेनमार्कसँग सबैभन्दा धेरै व्यापार नाफा कमाएको छ। डेनमार्कबाट २१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले १ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यसबाट नेपालले ८० करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार नाफा गरेको विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै नर्वेसँग ८ करोड ८० लाख रुपैयाँ, रोमानियासँग ४ करोड २२ लाख रुपैयाँ र आइसल्याण्डसँग २ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ। ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक तथा एङ्गोलाबाट नेपालले आयात नगरे पनि ती देशमा निर्यात भएको विभागले जनाएको छ।

डिजेल सबैभन्दा बढी आयात

वस्तुगत आधारमा हेर्दा गत आवमा सबैभन्दा बढी डिजेल आयात भएको छ। विभागका अनुसार १ खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ।

त्यसपछि १ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ। त्यस्तै ७७ अर्ब २६ करोड रुपैयाँ बराबरको पेट्रोल, ६० अर्ब २८ करोड रुपैयाँ बराबरको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँ बराबरको अर्धप्रशोधित फलाम तथा ४८ अर्ब ६९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्।

समग्र वस्तु समूहअनुसार खनिज इन्धन तथा पेट्रोलियम पदार्थको आयात ३ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै वनस्पति तेल १ खर्ब ७९ अर्ब रुपैयाँ, मेसिनरी तथा उपकरण १ खर्ब ५६ अर्ब रुपैयाँ, फलाम तथा स्टिल १ खर्ब ४१ अर्ब ९५ करोड रुपैयाँ, विद्युतीय उपकरण १ खर्ब ४१ अर्ब ३५ करोड रुपैयाँ, सवारी साधन १ खर्ब २४ अर्ब रुपैयाँ, प्लास्टिकजन्य सामग्री ७४ अर्ब रुपैयाँ, बहुमूल्य धातु तथा पत्थर ६४ अर्ब ६७ करोड रुपैयाँ, अन्न ५९ अर्ब ६६ करोड रुपैयाँ तथा रासायनिक मल करिब ५० अर्ब रुपैयाँ बराबर आयात भएको छ।

भटमासको तेल निर्यातमा अग्रस्थान

निर्याततर्फ भटमासको तेल सबैभन्दा ठूलो निर्यात वस्तु बनेको छ। विभागका अनुसार १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।

त्यसपछि १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको अलैँची, १० अर्ब ३८ करोड रुपैयाँ बराबरको ऊनी गलैँचा, ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा ७ अर्ब १४ करोड रुपैयाँ बराबरको जुटका काँचो कपडा निर्यात भएका छन्।

वस्तु समूहका आधारमा वनस्पति तेल तथा बोसोको निर्यात १ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ, चिया, कफी तथा मसलाजन्य वस्तु १८ अर्ब ७५ करोड रुपैयाँ, मानव निर्मित धागो १५ अर्ब ५१ करोड रुपैयाँ, गलैँचा तथा कार्पेट ११ अर्ब ७९ करोड रुपैयाँ, खाद्य उद्योगका अवशेष १० अर्ब २६ करोड रुपैयाँ, काठजन्य सामग्री ९ अर्ब ८७ करोड रुपैयाँ, तयारी पोशाक ८ अर्ब ७३ करोड रुपैयाँ, जुटजन्य धागो ८ अर्ब ६ करोड रुपैयाँ, प्रशोधित फलफूल तथा जुस ७ अर्ब ७१ करोड रुपैयाँ तथा फेल्टजन्य हस्तकलाका सामग्री ६ अर्ब ८ करोड रुपैयाँ बराबर निर्यात भएको विभागले जनाएको छ।

आयात–निर्यात दुवैमा वीरगञ्ज नाका अग्रस्थानमा

गत आवमा सबैभन्दा बढी आयात वीरगञ्ज नाकाबाट भएको छ। यहाँबाट ९ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ, अर्थात् कुल आयातको ४७.०५ प्रतिशत बराबरका वस्तु भित्रिएका छन्।

त्यसपछि भैरहवा नाकाबाट ३ खर्ब ४ अर्ब १७ करोड रुपैयाँ (१४.५१ प्रतिशत), विराटनगर नाकाबाट २ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ (११.५४ प्रतिशत) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ (९.७१ प्रतिशत) बराबरका वस्तु आयात भएका छन्।

निर्याततर्फ पनि वीरगञ्ज नाका नै अग्रस्थानमा रहेको छ। यहाँबाट १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ, अर्थात् कुल निर्यातको ३६.४३ प्रतिशत बराबरका वस्तु विदेश पठाइएको छ। त्यस्तै विराटनगर नाकाबाट ८८ अर्ब ७२ करोड रुपैयाँ (२८.१४ प्रतिशत) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ अर्ब ९४ करोड रुपैयाँ (१२.०३ प्रतिशत) बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार