Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक, १० करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक, १० करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक, १० करोड राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

यो निकुञ्ज वन्यजन्तुको जनजीवन अवलोकनका निम्ति प्रसिद्ध छ । चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकले बढी रुचाउने क्षेत्र पनि हो ।

यो निकुञ्जमा गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छ ।

यस्तै, घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका किराफट्यांग्रा यहाँ पाइन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले यहाँको अवलोकन भ्रमण गरेको बताए । पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको उनले उल्लेख गरे ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जापुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

“चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्यांक हेर्दा एक लाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुनुहुन्छ । राजस्व आम्दानीको हिसाबले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजस्व संकलन भएको छ,” उनले भने ।

निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको उनले बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्वे, रोनाल्डो, मकुना, यमगज, गोविन्देलगायत हात्तीहरू बाहिर देखिएको सुनाए ।

सम्बन्धित समाचार