काठमाडौँ / नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले निर्माण गरेको उक्त प्रसारण लाइन शिलान्यास भएको नौ महिनामै सम्पन्न भएको हो।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको हो। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।
तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा उक्त प्रसारण लाइनको शिलान्यास गरेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ।
‘नेपालको अहिलेको आवश्यकतालाई दृष्टिगत गरी यो लाइन निर्माणलाई हामीले तीव्रता दियौँ,’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने।
एमसिए–नेपालले भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो। १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।
तर, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयका लागि सम्पूर्ण सहायता स्थगित गरिएपछि आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो। त्यसपछि नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको एमसिए–नेपालले जनाएको छ।
सीमापार विद्युत् व्यापारका लागि महत्त्वपूर्ण पूर्वाधार
न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत नेपालको विद्युत् पूर्वाधार विकासमा सहयोग पु¥याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न भएपछि प्राप्त हुने लाभका लागि नेपाल सरकार प्रतीक्षारत रहेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन र प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा भएको बताए। नेपालतर्फको प्रसारण लाइन निर्माण सम्पन्न हुनु सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्न सकिने उदाहरण भएको उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसले नेपाल र भारतबीचको विद्युत् सञ्जाललाई थप सुदृढ बनाउने आधार तयार गरेको उनले बताए।
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन। प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ।
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको बताए। उनका अनुसार अब प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गर्न आवश्यक बाँकी काम पूरा गर्ने दिशामा काम अघि बढाइनेछ।
यसले नेपाल र भारतबीच मात्र नभई बृहत्तर क्षेत्रीय विद्युत् सञ्जाल र ऊर्जा सहकार्य विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन्।
३१५ किमि प्रसारण लाइन र तीन सबस्टेसन
न्यू बुटवल–भारत सीमासम्मको १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एउटा हिस्सा हो। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ।
एमसीसीको अनुदानमा कुल ३ सय १५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ। ती आयोजनाका थप तीन प्याकेजमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। त्यसका साथै ४०० केभीकै विद्युत् सबस्टेसन तथा सडक सुधार आयोजना पनि कार्यान्वयन हुँदै छ।
आयोजनाले नेपालमा विद्युत्को उपलब्धता तथा विश्वसनीयता सुधार गर्नुका साथै ऊर्जा सुरक्षा बलियो बनाउने, भविष्यमा उत्पादन हुने विद्युत् प्रसारण गर्ने क्षमता विस्तार गर्ने र सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।
आयोजनाअन्तर्गत विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ। नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै उत्पादन भएको विद्युत् आन्तरिक बजारसम्म पुर्याउन र भारत तथा अन्य क्षेत्रीय बजारमा निर्यात गर्न प्रसारण पूर्वाधारको आवश्यकता बढ्दै गएको छ।
यस्तो अवस्थामा न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको प्रसारण लाइन निर्माण सम्पन्न हुनुलाई सीमापार विद्युत् व्यापारका लागि पूर्वाधार विस्तारको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ। अब बाँकी स्वीकृति र प्राविधिक प्रक्रिया पूरा गरी प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदान तथा व्यापारका लागि थप पूर्वाधार उपलब्ध हुनेछ।
