Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

घरजग्गा काराेबार १ वर्षमै ३ खर्ब ३४ अर्बले बढ्यो, कुन क्षेत्रमा कति भए किनबेच ?

घरजग्गा काराेबार १ वर्षमै ३ खर्ब ३४ अर्बले बढ्यो, कुन क्षेत्रमा कति भए किनबेच ?

गत आर्थिक वर्षमा घरजग्गा कारोबारको रकमदेखि कारोबार सङ्ख्या, कारोबार भएको क्षेत्रफल, राजस्व, पुँजीगत लाभकर र बैंक कर्जासम्ममा वृद्धि

अर्थ प्लस
घरजग्गा काराेबार १ वर्षमै ३ खर्ब ३४ अर्बले बढ्यो, कुन क्षेत्रमा कति भए किनबेच ?

काठमाडौँ / सुस्ताएकाे घरजग्गा बजारमा पछिल्लो एक वर्षमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबारको रकम करिब दोब्बर पुगेको छ ।

कारोबार सङ्ख्या, कारोबार भएको क्षेत्रफल, राजस्व तथा बैंक कर्जासमेत बढेपछि घरजग्गा बजार चलायमान बनेको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कुल ७ खर्ब २० अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको थियो । अर्थात् एक वर्षको अवधिमा घरजग्गा कारोबार रकम ३ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२७.६१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार सङ्ख्या पनि बढ्यो

घरजग्गा कारोबारको रकमसँगै कारोबार सङ्ख्यामा समेत सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या १४.६५ प्रतिशतले बढेको थियो ।

लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या गत आर्थिक वर्षमा १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार सङ्ख्या १५.४५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या गत आर्थिक वर्षमा २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ८.१५ प्रतिशतले बढेको थियो ।

घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत बढेको छ । गत आर्थिक वर्षमा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको तुलनामा १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

राजस्व र पुँजीगत लाभकरमा वृद्धि

घरजग्गा कारोबार बढेसँगै सरकारले प्राप्त गर्ने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा घरजग्गा कारोबारबाट सङ्कलन भएको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, घरजग्गा कारोबारबाट सङ्कलन भएको पुँजीगत लाभकर गत आर्थिक वर्षमा ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो ।

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।

मधेशमा काराेबार घट्याे, बागमतीमा कारोबार मूल्यमा उछाल

प्रदेशगत रूपमा हेर्दा गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारको अवस्था सबै प्रदेशमा समान भने देखिएको छैन । बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार सङ्ख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने यस्तो कारोबार सङ्ख्या ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा राजीनामा कारोबार सङ्ख्या बढेको छ ।

कारोबार भएको कुल क्षेत्रफलतर्फ बागमती प्रदेशमा सबैभन्दा धेरै ५०.२४ प्रतिशतले वृद्धि भएको छ । मधेश प्रदेशमा भने कुल कारोबार क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।

तर घरजग्गा कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बागमती प्रदेशमा कारोबारको कुल मूल्य सबैभन्दा धेरै १७५.३३ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने सबैभन्दा कम ३१.९८ प्रतिशतले वृद्धि भएको छ ।

प्लटको आकारका आधारमा पनि कारोबारको अवस्था परिवर्तन भएको छ । गत आर्थिक वर्षमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएका छन् । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेश प्रदेशमा भने २० आना भन्दा बढीका प्लटहरू सबैभन्दा धेरै कारोबार भएका थिए । अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू नै सबैभन्दा धेरै कारोबार भएका थिए ।

महानगरमा घरजग्गा कारोबार ह्वात्तै बढ्याे

महानगरपालिकाहरूमा घरजग्गा कारोबारको वृद्धि अझ तीव्र देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा काठमाडौँ महानगरपालिकामा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ ।

त्यसपछि ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३.०४ प्रतिशत, विराटनगर महानगरपालिकामा ४७.५९ प्रतिशत र वीरगञ्ज महानगरपालिकामा २९.१९ प्रतिशतले घरजग्गा कारोबार सङ्ख्या बढेको छ ।

कारोबार भएको कुल क्षेत्रफलतर्फ पनि सबै महानगरपालिकामा वृद्धि भएको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २०८.२२ प्रतिशत रहेको छ । वीरगञ्ज महानगरपालिकामा भने सबैभन्दा कम १३.३१ प्रतिशत वृद्धि भएको छ ।

घरजग्गा कारोबारको कुल मूल्य पनि सबै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ ।

उपमहानगरमा पनि बढ्याे कारोबार 

उपमहानगरपालिकातर्फ पनि घरजग्गा बजारमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कलैया उपमहानगरपालिका बाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबारको सङ्ख्या बढेको छ ।

धनगढी उपमहानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ । कलैया उपमहानगरपालिकामा भने यस्तो कारोबार सङ्ख्या स्थिर रहेको छ ।

कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ । हेटौँडा उपमहानगरपालिकामा यस्तो क्षेत्रफल सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको छ ।

घरजग्गा कारोबारको कुल मूल्यतर्फ पनि सबै ११ वटा उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ । हेटौँडा उपमहानगरपालिकामा कारोबारको कुल मूल्य सबैभन्दा धेरै १८६.८० प्रतिशतले बढेको छ ।

यसरी गत आर्थिक वर्षमा घरजग्गा कारोबारको रकमदेखि कारोबार सङ्ख्या, कारोबार भएको क्षेत्रफल, राजस्व, पुँजीगत लाभकर र बैंक कर्जासम्ममा वृद्धि देखिएको छ । 

विशेषगरी बागमती प्रदेश तथा काठमाडौँ महानगरपालिकामा कारोबार रकम र सङ्ख्याको तीव्र वृद्धिले समग्र घरजग्गा बजारमा आएको सुधार देखाएकाे छ ।

सम्बन्धित समाचार