काठमाडौँ / नेपालमा टिभिएस मोटर्सको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको अफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
सम्मेलनमा जगदम्बा मोटर्सले ‘Overall Service Best Performance’ र ‘Best Manufacturing Unit–Asia’ अवार्ड प्राप्त गरेको हो। विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको सम्मेलनमा नेपाललाई समेत सम्मानित गरिएको जनाइएको छ।
विशेषगरी ‘Overall Service Best Performance’ अवार्डले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र सेवा प्रणालीलाई टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एकका रूपमा पुष्टि गरेको कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले उक्त सम्मान ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको उपलब्धि भएको बताइन्। उनका अनुसार ‘Overall Service Best Performance’ अवार्ड प्राप्त हुनु नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाण हो।
जगदम्बा मोटर्स नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपको सदस्य कम्पनी हो। कम्पनीले देशभरको नेटवर्कमार्फत टिभिएस का दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।
शंकर ग्रुप सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना गरिएको बहुआयामिक व्यावसायिक समूह हो। समूहअन्तर्गत विभिन्न व्यावसायिक क्षेत्रमा ४० वटा कम्पनी रहेको र आर्थिक वर्ष २०२०/२१ मा समूहअन्तर्गतका कम्पनीहरूको संयुक्त कारोबार १ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको उल्लेख छ। ती कम्पनीहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएका छन्।
