काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेका छन् ।
असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले वृद्धाश्रमलाई आवश्यक सामग्री प्रदान गरेको हो । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दयमन्ती जोशी तथा बैंक र आश्रमका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि समय–समयमा गर्दै आएको जनाएको छ ।
यसैबीच, नेपाल एसबीआई बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको आफ्नो इटहरी शाखा सोही उपमहानगरपालिका–९ स्थित विशाल कम्प्लेक्समा स्थानान्तरण गरेको छ ।
त्यस्तै, इलाम नगरपालिका–१, इलाम बजारमा रहेको इलाम शाखालाई सोही नगरपालिकाको वडा नं. ७ स्थित इलाम बजारमै स्थानान्तरण गरिएको छ । दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेका छन् ।
नयाँ भवन परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले गरेका थिए । शाखा स्थानान्तरणसँगै ग्राहकवर्गले थप सुविधासहित बैंकिङ सेवा प्राप्त गर्ने अपेक्षा बैंकले गरेको छ ।
नेपाल एसबीआई बैंक लिमिटेडले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ इकाइ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
