गोरखा । केही महिनादेखिको निरन्तर प्रयास, पहल र समन्वयपछि भीमसेनथापा गाउँपालिका–८, बोर्लाङ्ग निवासी हिरामाया श्रेष्ठज्यूले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
श्रेष्ठको नागरिकता बनाउनको लागि माइती घर आरुघाट गाउँपालिकाको वडा नम्बर २ मान्बुमा पुगेर जन्म प्रमाणपत्र बनाई बिगत ३/४ बर्ष देखि जन्म घरमा नबसि छोरीको घर धादिङ्गको सुकौरा बस्दै आउनु भएका श्रीमान ओम बहादुर श्रेष्ठलाई वडाको समन्वयमा जन्म घर बोर्लाङ्ग उपस्थित गराई उहाँहरुको बिहे दर्ता गराएर नागरिकता बनाउने काम भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो।
त्यसैगरी एक नागरिकको अधिकार सुनिश्चित हुनु नै सबैभन्दा ठूलो उपलब्धि भएको वडा नं. ७ का अध्यक्ष श्री नारायण श्रेष्ठले जानकारी दिनुभयो।
हिरामाया विगत ३ बर्ष देखि एक्लो बेसाहारा जीवन बिताइरहेकी थिइन् । उनलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको स्थानिय समाजसेवी विपिन श्रेष्ठले जानकारी दिनुभयो।
लामो समयदेखिको समस्याको समाधान पछि राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायत अन्य सेवा सुबिधाहरु उहाँले पाउनुहुनेछ ।
यस कार्यका लागि भीमसेनथापा गाउँपालिका अध्यक्ष श्री लोकप्रसाद बन्जराज्यू, आरुघाट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष श्री रमेश लामिछानेज्यू को साथ सहयोग रहेको थियो।
