काठमाडौं । आज बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार सहित दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले घर तथा टहरामा समेत क्षति पुर्याएको छ भने केही घर जोखिममा परेका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका छन् ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही गाउँपालिकाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा पानी पसेको छ। धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेको प्रहरीले बताएको छ।
यसैगरी आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। बाढीका कारण नदी आसपासका बस्ती तथा भौतिक संरचनामा थप क्षति पुग्न सक्ने जोखिम रहेको छ।
बुढीगण्डकी नदीमा चुमनुब्री गाउँपालिका–६ तर्फबाट ठूलो बाढी आइरहेकाले नदीको बहाव सुरक्षित रूपमा नघटेसम्म त्रिशूली दोभानसम्म नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न नेपाल प्रहरीले आग्रह गरेको छ।
