Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

१६ सिटे Maxus eDeliver5 विद्युतीय मिनिबस सार्वजनिक, मूल्य ६९ लाख ५० हजार

१६ सिटे Maxus eDeliver5 विद्युतीय मिनिबस सार्वजनिक, मूल्य ६९ लाख ५० हजार

अर्थ प्लस
१६ सिटे Maxus eDeliver5 विद्युतीय मिनिबस सार्वजनिक, मूल्य ६९ लाख ५० हजार

काठमाडौँ / नेपाली बजारमा १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 सार्वजनिक भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रोक्स प्रा.लि.ले आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उक्त मिनिबस सार्वजनिक गरेको हो। यसको बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा प्रयोग गर्न सकिने गरी ल्याइएको यस मिनिबसमा यात्रुको आराम, सुरक्षा र आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको पनि उपस्थिति थियो।

एकपटक चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज

MAXUS eDELIVER5 मा ६४ kWh क्षमताको CATL ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार NEDC परीक्षण मापदण्डमा यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। गाडीले अधिकतम १२० kW पावर र २४० Nm टर्क उत्पादन गर्छ।

यसमा ७० kW सम्मको DC फास्ट चार्जिङ सुविधा उपलब्ध छ। उक्त प्रविधिबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

यात्रुको सुविधाका लागि आधुनिक फिचर

मिनिबसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छ। यसले ब्लुटुथ, USB, वायरलेस Apple CarPlay र Android Auto सपोर्ट गर्छ। चार तहमा समायोजन गर्न मिल्ने स्टेयरिङ, आधुनिक ककपिट तथा स्टेयरिङ माउन्टेड स्विच गियरले पनि यात्रालाई सहज बनाउने कम्पनीको दाबी छ।

सुरक्षाका लागि गाडीमा ३६० डिग्री अराउन्ड-भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ र ड्राइभर स्टेट मोनिटरिङ प्रणाली समावेश छन्।

यसका अतिरिक्त चालक र अगाडिका यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल तथा टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छन्। गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एलोय ह्विलसमेत रहेको छ।

ब्याट्रीमा ८ वर्ष, मोटरमा ५ वर्षको वारेन्टी

कम्पनीको ब्रोसरअनुसार गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध छ। विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोग गर्न चाहने व्यवसायीलाई लक्षित गर्दै कम्पनीले यो मिनिबस बजारमा ल्याएको हो।

चीनमा विश्वप्रसिद्ध SAIC ग्रुपअन्तर्गतको MAXUS कम्पनीले उत्पादन गरेको यस गाडीमा उपलब्ध सुविधा र मूल्यलाई प्रतिस्पर्धात्मक बनाइएको कम्पनीको दाबी छ।

हिमालय मोट्रोक्सले यसअघि MAXUS eTerron9 विद्युतीय पिकअप पनि नेपाली बजारमा ल्याइसकेको छ। कम्पनीको MAXUS शोरुम काठमाडौंको हात्तीसारमा रहेको छ।

MAXUS eDELIVER5 सार्वजनिक भएसँगै पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ। आधुनिक सुविधा, सुरक्षा प्रविधि र विद्युतीय सञ्चालन प्रणालीसहितको यस मिनिबसले यात्रुवाहक यातायातलाई थप सुविधाजनक र वातावरणमैत्री बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

सम्बन्धित समाचार