काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । पुष्पा भूसाल यसअघि नै महिलातर्फ निर्विरोध उपसभापति चयन भएकी थिइन्।
आइतबार राति सकिएको मतगणना अनुसार खुला उपसभापतिमा चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए । अर्का विजयी मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।
खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्दै विजयी भएका छन्।
चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
