काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौँको डल्लुमा पनि अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ ।
भक्तपुरमा सञ्चालनमा आएको सेन्टरमा आठवटा सर्भिस बे छन् । तीमध्ये पाँचवटा सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा आवश्यकता बढ्दै जाँदा प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । यहाँ सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालनमा आउनेछ ।
सेन्टरमा सवारीसाधन बिक्री, मर्मतसम्भार र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध हुनेछ । भक्तपुरको मौलिक वास्तुकलाबाट प्रेरित डिजाइनमा निर्माण गरिएको यस सेन्टरलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ नाम दिइएको छ ।
बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले सेन्टरको उद्घाटन गरेका हुन् ।
डल्लुमा निर्माण हुने सेन्टरले उपत्यकामा बीवाईडीको बिक्रीपछिको सेवा विस्तार गर्ने कम्पनीको अपेक्षा छ । साइमेक्सले विद्युतीय सवारीसाधनका ग्राहकलाई मर्मतसम्भार तथा स्पेयर पार्ट्सको सुविधा सहज बनाउन सेवा सञ्जाल विस्तार गरिरहेको जनाएको छ ।
डल्लुको शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका साउथ एसिया रिजनका हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङसहित साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठ सहभागी थिए ।
