काठमाडौ, ३ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने कम्पनीमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) पहिलो भएको छ। लघुवित्तले आज (माघ ३ गते) पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो।
प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।
६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०.४० प्रतिशत घटेको छ भने कर्जा लगानी ३.३२ प्रतिशत घटेको छ।

