Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

टेलिकमको कामचलाउ फाइभजी परिक्षण, तीन स्थानमा मात्रै परिक्षण भएपछि प्राधिकरणले फिर्ता माग्यो फ्रिक्वेन्सी

टेलिकमको कामचलाउ फाइभजी परिक्षण, तीन स्थानमा मात्रै परिक्षण भएपछि प्राधिकरणले फिर्ता माग्यो फ्रिक्वेन्सी

टेलिकमको कामचलाउ फाइभजी परिक्षण, तीन स्थानमा मात्रै परिक्षण भएपछि प्राधिकरणले फिर्ता माग्यो फ्रिक्वेन्सी

काठमाडौ, ३ माघ । नेपालमा फाइभजी परिक्षण गर्ने जिम्मा पाएको नेपाल टेलिकमले दुई बर्षसम्म पनि कुनै प्रगति गर्न नसकेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परिक्षणको लागि दिएको ६० मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता मागेको छ ।

प्राधिकरणले दुई बर्ष भित्र देशैभर फाइभजी परिक्षण गर्न २६०० ब्यान्डको ६० मेगाहर्ज फ्रिक्वेन्सी जनवरीसम्मका लागि दिएको थियो ।

तर, टेलिकमले दुई बर्षसम्म ग्राहकले समेत परिक्षण गर्न पाउने गरी फाइभजी परिक्षण गर्न नसकेको बताउदै हालसम्मको प्रगति विवरण र प्रतिवेदन समेत माग गरेको हो । हाल गत दुई बर्षदेखि निकै हल्लाखल्लाका साथ परीक्षण सेवा उपलब्ध गराउने भनेर प्रचार गरिएको नेपाल टेलिकमको फाइभजी सेवा अहिले सीमित स्थानमा कामचलाउ परिक्षणका रूपमा मात्रै सिमित भएको छ ।भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले देखिने गरी फाइभजी परिक्षणको काम अघि बढाउन सकेनन् । अहिले टेलिकमको नेतृत्वको जिम्मेवारी पाएकी संगिता पहाडी पनि फाइभजी परिक्षणमा अलमलमै छिन ।

टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएको तीन बर्ष बढी भइसक्दा पनि हालसम्म चार स्थानमा मात्रै फाइभजीको आन्तरिक परिक्षणमा सिमित भएको छ । देशैभर परिक्षण सकिसक्नु पर्ने बेला प्राधिकरणलाई दोष दिदै जिम्मेवारीबाट पन्छिरहेको छ ।

फाइभजी परिक्षणको अनुमति पछि तीन जना सञ्चारमन्त्री परिवर्तन भइसकेका छन् । तर, टेलिकमको कार्यशैली र कार्यक्षमतामा पटक पटक प्रश्न उठ्दा पनि हालकी सञ्चारमन्त्री रेखा शर्मा पनि गुपचुप छिन ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले गत हप्ता नै प्राधिकरणबाट उपलब्ध ६० मेगाहर्ज फ्रिक्वेन्सी फिता गर्न पत्र सहितको निर्देशन दिइसकेको बताए ।

‘प्राधिकरणले फाइभजी परिक्षण गर्न नसकेको अवस्थामा जनवरीसम्मको लागि दिइएको २६०० व्यान्डको ६० मेगाहर्ज फिक्वेन्सी फिर्ता गर्ने निर्णय भइसकेको छ । पत्र मार्फत टेलिकमलाई फाइभजी परिक्षणको प्रतिवेदन बुझाउन भनेका छौं,’ स्थापितले मेरोलगानीलाई भने ।

हाल फाइभजी परिक्षण गर्न जनवरीसम्मका लागि पाएको ६० मेगाहर्ज फ्रिक्वेन्सीको समय थप गर्न टेलिकम नेतृत्व सञ्चारमन्त्री रेखा शर्मा मार्फत दबाव दिइरहेको छ । टेलिकमका प्रवक्ता सोभन अधिकारीले दूरसञ्चार प्राधिकरणबाट ६० मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्न आग्रह भएको जानकारी दिए ।

उनले भने ‘सुरुमा फाइभजी परिक्षणका लागि चार ओटा उपकरण ल्याएको र ती चार ओटा उपरकण तीन ओटा प्रदेशको चार ओटा ठाउँमा जडान गर्यो । जसमा बाग्मती प्रदेशको काठमाडौं भित्र बबरमहल र सुन्धार क्षेत्रमा जडान भयो भने गण्डकीको पोखरा र मधेश प्रदेशको विरगन्जमा फाइभजीको आन्तिरिक परिक्षण भयो ।’

 

उनले त्यस बाहेका अन्य उपकरण ल्याउने योजनका साथ प्राधिकरणलाई सो उपकरण आयातको स्वीकृतिको लागि पत्र पठाएको र प्राधिकरणले कुनै रेस्पोन्स नदिएको अवस्था रहेको उनले बताए । तीन प्रदेशका चार ठाउँ बाहेक अन्य प्रदेशमा हालसम्म पनि फाइभजी परिक्षण हुन सकेको छैन।’ 

उनले थपे ‘हामीले तीन प्रदेशका चार ठाउँ बाहेक अन्य ठाउँमा फाइभजी परिक्षण गर्न सकेका छैनौं । हामीले लिमिटेड उपकरणमा फाइभजीको आन्तरिक परिक्षण थालेका थियौं तर, २६ सय व्यान्डको फिक्वेन्सीमा फाइभजी चल्ने ह्यान्डसेटको अवस्था कम देखियो र हामीले परिक्षण गर्ने भनिएको फ्रिक्वेन्सी नितान्त आन्तरिक रुपमा बुझ्ने गरि भएपनि बुझाइ भने सम्पूर्ण ग्राहकले पनि परिक्षण गर्न पाउनु पर्ने भइदियो।’ 

हाल फाइभजी परीक्षणमा ढिलाइ हुनुमा प्राधिकरणलाई दोष देखाउदै उपकरण आयातको बाहाना बनाउदै आएको छ । टेलिकमकी कार्यवाहक प्रबन्ध निर्देशक संगिता पहाडीले फाइभजी परिक्षणको लागि दिएको फ्रिक्वेन्सीको समय थप गर्न प्राधिकरणलाई आग्रह गर्ने तयारी भएको जानकारी दिइन ।

सम्बन्धित समाचार