काठमाडौँ, असार २ । नेपालमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय स्तरको दुई वटा कार्यक्रम हुने भएका छन् । दशैंको छेको पारेर बीमासँग सम्बन्धित अन्तराष्ट्रिय सम्मेलन हुन लागेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार आगामी असोज र कात्तिक महिनामा उक्त कार्यक्रमहरु हुने छन् । एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरी (एफिर)को १९ औं वार्षिक बैठक असोज २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको प्राधिकरणकी सहायक प्रवक्ता पुनम ज्ञवालीले बताइन् ।
जसको आयोजकको रुपमा नेपाल बीमा प्राधिकरण हुनेछ । एफिरको १८औं बैठक मलेशियामा भएको थियो । एफिरमा हाल २४ वटा सदस्य देशहरु छन् । सम्मेलनमा प्रत्येक देशबाट दुई जनाको सहभागिता हुनछ ।
त्यस बाहेक एडीबीबाट, ओईसीडीबाट जीएआईपीबाट, फाइनान्सियल इन्स्टाब्लिटी इन्सिटीच्युट, अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेटरी एशोसिएशन लगायतका संस्थाबाट ८० जनाको सहभागिता हुने अनुमान छ ।
सम्मेलनको पहिलो दिन अर्थात असोज २१ गते सेभेन एशियन प्यासिफिक हाईल लेबल मिटिङ हुने कार्यतालिका छ । जसको आयोजक आईएआईएस, एफएसआई, बीमा प्राधिकरण र एफिर रहने छ । उक्त कार्यक्रममा प्यानल डिस्कस पनि हुने छ जसको दुई वटा सत्रमा बीमा प्राधिकरणको सहभागिता हुनेछ । कार्यक्रमको सहजीकरणका लागि प्राधिकरणले अर्थ मन्त्रालयलाई पनि पत्राचार गरिसकेको बताएको छ ।
यसैगरी,समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन पनि काटठमाडौंमा कात्तिक ५ गतेदेखि ९ गतेसम्म हुँदैछ । जर्मनको म्यूनिख रिफाउण्डेशनको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा समावेशी बीमा अध्ययन र कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया हुने छ । म्यूनिख रिफाउण्डेशन, माईक्रो इन्स्योरेन्स नेटवर्क, जीवन बीमक संघ, नेपाल बीमक संघको सहकार्यमा हुने कार्यक्रममा बीमा प्राधिकरणले पनि सहकार्य गर्ने छ ।
प्यानल डिस्कसनमा हुने कार्यक्रममा विभिन्न देशहरुमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरुका बारेमा छलफल हुनेछ । सम्बन्धीत देशहरुले समावेशी बीमालाई अपनाउने क्रममा देखिएका समस्या, चुनौति, अवसर, समास्या समाधान लगायतका विषयहरुमा छलफल हुनेछ । कार्यक्रममा ५० भन्दा बढी देशका ४००भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने अनुमान छ ।
