काठमाडौं, असार १४ । यो साता लगानीकर्तामा उत्साह नदेखिएपछि शेयर बजार घटेको छ । अघिल्लो साता २ हजार ६८.३१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५१.९२ विन्दुमा बन्द भएको छ । यो साता शेयर बजार १६.३९ अंकले घटेको छ ।
यो साता शेयर बजारमा पाँच दिन कारोबार भएको छ । सातामा तीन दिन बजार घटेको थियो भने दुई दिन मात्रै बजार बढेको थियो । अघिल्लो साता भने बजार ४३.३८ अंकले घटेको थियो ।
पछिल्ला केहि दिनयता नेप्से परिसूचक २ हजार वरिपरिको लाइनमा चलेको थियो । २ हजार १००विन्दुबाट तल झरेपछि बजार निकै सुस्त देखिएको थियो ।
यो साता दोस्रो बजारमा २१.४१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता भने १६.८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यस आधारमा यो साता पनि धितोपत्र बजारमा नेप्से परिसूचक र कारोबार दुबै घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार अघिल्लो साताको तुलनामा यो साता बजार घटेपनि कारोबार भने बढेको देखिएको छ ।
यो साता बजार पूँजीकरण ३२.५३ खर्ब रुपैयाँ रह्यो । अघिल्लो साता बजार पूँजीकरण चाहिं ३२ खर्ब ७९ अर्ब रुपैयाँ थियो । बजार घटेकाले पूँजीकरण पनि २६ अर्ब रुपैयाँले घटेको छ ।
यस साता सबैभन्दा बढी उचाइमा मंगलबार नेप्से परिसूचक पुगेको थियो । सो दिन नेप्से परिसूचक २ हजार ७१.७७ विन्दुमा पुग्यो ।त्यसअघि र त्यसपछि भने नेप्से बढ्नुको साटो निरन्तरको गिरावट आएको देखिन्छ।
लगानीकर्ताको मनोबल बलियो बन्न नसकेकोले बजारमा त्यसको नकारात्मक असर परेको कतिपय लगानीकर्ता बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजारलाई प्रभाव पार्ने ब्याजदर घटाएके भएता पनि बजार बढ्न सकेको छैन । बैंकमा लगानीयोग्य रकम पनि प्रशस्त छ । तर, पनि बजार नबढ्नुमा लगानीकर्ताको मनोबल नै मूख्य कारण भएको जानकार बताउँछन् ।
नीतिगत सुधार नगरेसम्म बजार नबढ्ने उनीहरुको भनाइ छ । कतिपय लगानीकर्ताहरु भने मौद्रिक नीति अझ लचक आएको खण्डमा बजारले गति लिने अपेक्षा गरिरहेका छन् ।
बिहीबार सबैभन्दा बढी त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ७.०९ प्रतिशत वृद्धि भएको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४९९.९० रुपैयाँ छ । सोही दिन नेपाल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । सर्वाधिक शेयर खरिदबिक्री नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको २२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
बुधबार भने सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य ९.५५ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ३० रुपैयाँ पुगेको थियो भने सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.३८ प्रतिशत गुमाएका थिए ।
मंगलबार भने सबैभन्दा बढी ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४(८५ नाम ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको थियो भने साधधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
सोमबार चाहिं नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । उता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै अर्थात् ७.०१ प्रतिशत गुमाएका थिए । सो दिन मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक २४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसैगरी, आइतबार भने रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी गरी चार वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । उक्त दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी अर्थात् ६.५८ प्रतिशतका दरले गुमाएका थिए । उक्त दिन सर्वाधिक पोखरा फाइनान्सको १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
