Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएनः मन्त्री भुसाल

पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएनः मन्त्री भुसाल

पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएनः मन्त्री भुसाल

सर्लाही, माघ ५ ।कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताएका छन् । 

आज यहाँ आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाका अवसरमा  कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट बिनियोजन भएकाले र त्यो पर्याप्त नभएको बताए । 

उनले कृषिमा सिँचाइ, मलखाद, बीउबिजन लगायत प्राविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा राखे । 

मन्त्री भुसालले कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १७ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा पुगेको बताए । उनले चुरे संरक्षण, प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए । 

प्रविधिको विकाससँगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ थियो । उनले कृषिजन्य उत्पादन र कृषिमा सुधारात्मक परिवर्तन ल्याउन प्रविधि, उद्योग, मल बीउ, सिँचाइलगायत व्यवस्थापनका साथै बजारको उचित व्यवस्था गर्न आवश्यक रहेको र बजारको मागअनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्रमार्फत नै फड्को मार्न सकिने बताए । 

किसानका उत्पादन र प्रविधियुक्त कृषिखेतीको प्रवर्द्धन र व्यवस्थापन गर्न सहज होस् भनेर कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका अध्यक्ष रमेश बुढाथोकीले बताए । 

‘मधेस प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनी मेलामा उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो । साथै बैंक तथा संस्थाबीच अन्तरक्रिया, पशु उपचार, गोबर परीक्षण, माटो परीक्षणका साथै किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शन र स्थानीय कलाकारबाट कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेला माघ ७ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचार