काठमाडौं, साउन २२ । गत शुक्रबार पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशसरण महतले अर्थसमितिमा बोल्दै शेयर बजारमा चलखेल भइरहेको तर्क राखे । वित्तीय अवस्था नै नाजुक रहेका कम्पनीहरुको शेयर मूल्यमा आएको अस्वभाविक वृद्धिले बजारमा माफियाको दबदबा रहेको प्रष्ट हुने उनको तर्क थियो । हल्लाको भरमा शेयर बजार चलि रहेको बताउँदै उनले साना लगानीकर्ता डुब्नबाट बचाउन सरकारलाई ध्यानाकर्षण जनाए । मौद्रिक नीति मार्फत शेयर बजारका केहि सीमा खुकुलो हुनुमा समेत आपत्ति जनाए ।
महतको बिरोध अर्थसमिति हुँदै संसदसम्म पुग्यो । आइतबार प्रतिनिधि सभामा बोल्दै शेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताए । उनले मार्केटमा चलखेलको हात रहेको भन्दै ‘म्यानुपेलसन’ हुने सम्भावना बढी भएको टिप्पणी गरे । महतले केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आमलगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको तर्क राखे ।
सोहि दिन अर्का स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा आकस्मिक समयमा बोल्दै शेयर बजारमा माफियाहरुको चलखेल भएको भन्दै आक्रोस पोखे । उनले केही सीमित ब्यक्तिले शेयर बजारलाई कृत्रिम रुपमा बढाएर नवप्रवेशी लगानीकर्तालाई डुबाउने खेल खेलि रहेको बताएका थिए । इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरूको मूल्य कृत्रिम रूपमा बढाएर ठगि गरी रहेको उनको तर्क थियो । सिहंले केहि लगानीकर्ताको नाम र कम्पनीको शेयर मूल्यमा भइरहेको उछाललाई नै देखाउँदै चलखेल भइरहेको बताए ।
जसको प्रत्यक्ष असर आज शेयर बजारमा देखियो । पुँजी बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुने गर्दछ । बजारमा चलेका अनेकौ हल्लाले शेयर लगानीकर्ताको मनोबल कमजोर बन्दा सोमबार भारी गिरावट देखियो । लगानीकर्ताको अर्बौ रकम गुम्यो । बजारको गिरावटको प्रमुख कारण महत र सिंह रहेको भन्दै लगानीकर्ता अहिले समाजिक सञ्जालमा आक्रोस पोखि रहेका छन् ।
तर, वास्तमा शेयर बजारमा माफियाहरुको चलखेल भएको पृष्टि आजको गिरावटले देखिएको छ । वित्तीय अवस्था नै नाजुक रहेका कम्पनीहरुका शेयर मूल्य अस्वभाविक वृद्धिमा प्रश्न उठाउने महत र सिंहको तर्कले आज बजार माफियाले चलाएको बुझ्न सकिन्छ । जसमा ठुला लगाानीकर्ता एक्जिट भइसके भने साना लगानी डुबे । शेयर बजारमा उच्च गिरावट (१४५.०५ अकं) देखिएपनि कारोबार रकमले भने रेकर्ड ब्रेक गरेको छ । यसदिन हालसम्मकै उच्च कारोबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २३३ कम्पनीको शेयर मूल्य राताम्य भएको हो ।
नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसिएर थप लगानी गर्नुभन्दा पनि आफूले गरेको लगानीको सुनिश्चिततातर्फ ध्यान दिनुपर्दछ। किनकी शेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले पनि अधिक हुन्छ। बढी नाफा कमाउने आशामा शेयरमा लगानी गर्नुभन्दा पनि यसको विविधिकरणमा ध्यान दिनु उपयुक्त हुन्छ । निरन्तर उचाई तिर लम्कि रहेका बजार आज पछारिएको छ । एक साता देखि वृद्धि भएको शेयर मुल्य एकैदिनको गिरावटको मारमा शेयर लगानीकर्ता परेका छन् ।
अन्ततः बेलुन झै फुलेको शेयर बजार फुटेको छ । जुन कारण सोझा लगाानीकर्ताको लगानी बालुवामा पानि जस्तै भएको छ । अब बुधबारदेखि बजारमा नाफा बुक गर्नेहरुको हाबि देखिने प्रष्ट छ । लगानीकर्ताको मनोबल कमजोर रहेको र बजारले ओरालो यात्राको संकेत गरी सकेको अवस्थामा बजारमा बिक्री गर्नेहरुको हाबि हुने छ । जसले बजारलाई तत्कालका लागि माथि उठ्न सकस पर्ने देखिन्छ ।
शेयर बजारमा माफियाहरुले शेयर बिक्री गरेर एक्जिट भइसकेका छन् भने स–साना लगानीकर्ताको लगानी नै अलपत्र परेको छ । केहि चलखेल गर्ने ब्यक्तिले इसारामा नाच्दा कुनै न कुनै दिन घाटा खाने प्रष्ट छ । शेयर बजारमा आधारभुत अवस्था राम्रा भएका र लाभांश दिने कम्पनीमा मात्र लगानी गरौं, लहै लहैमा नलागौं, नत्र पछुताउनु बाहेकको अन्य विकल्प हुने छैन ।
सम्बन्धीत समाचार
कृत्रिम रूपमा सेयर बजार बढाइयो, सरकारको ध्यान जाओस् : अमरेश सिंह
शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत
